Saturday, February 15, 2025
डेटा स्टोरीघरभित्रकै हिंसा: आफ्नै प्रियजनबाट गैरहेको छ ज्यान

घरभित्रकै हिंसा: आफ्नै प्रियजनबाट गैरहेको छ ज्यान

पारिवारिक विवाद, मानसिक स्वास्थ्य समस्याहरू र सामाजिक संरचनामा कमजोरीका कारण बढिरहेका छन् हिंसात्मक घटना

हेटौँडा | नेपालमा पछिल्ला दिनहरूमा घरेलु हिंसा र पारिवारिक विवादका कारण हत्या जस्ता गम्भीर घटनामा वृद्धि भइरहेको छ। सोमबार डडेल्धुरामा श्रीमानले आफ्नी श्रीमतीलाई गोली प्रहार गरी हत्या गरेको घटना यो समस्याको पछिल्लो उदाहरण हो। प्रहरी तथ्याङ्क अनुसार आर्थिक, मानसिक स्वास्थ्य समस्या, र पारिवारिक असन्तुष्टिका कारण घरेलु हिंसा भयावह रूप लिँदैछ।

“आफ्ना भनेकै विश्वासको आधार हुन्” भन्ने भनाइ पछिल्ला केही समययता कमजोर हुँदै गएको छ। आफन्त, छिमेकी, वा नजिकका चिनजानकै व्यक्तिबाट ज्यान लिने अपराधका घटना समाजलाई झस्काउने गरी वृद्धि भइरहेको देखिन्छ। घरेलु हिंसाबाट उत्पन्न विवाद, आवेग, र आन्तरिक असन्तुलनका कारण भयावह अपराध बढेको तथ्यांकले पनि प्रमाणित गर्छ।

नेपालमा पछिल्ला दिनहरूमा पारिवारिक हिंसा र घरेलु विवादका कारण हुने हत्याका घटनाहरूले गम्भीर रूप लिएको छ। नेपालको विभिन्न ठाउँहरूमा पारिवारिक र घरेलु अपराधका घटनाहरूले एउटा डरलाग्दो सन्देश दिएको छ । परिवारभित्रको सम्बन्धले विश्वासको आधार गुमाउँदै जाँदा, जुन ठाउँ सुरक्षित र ममताको केन्द्र हुनु पर्दथ्यो, त्यही ठाउँ हिंसाको अखडा बन्न पुगेको देखिन्छ ।

२०८१ जेष्ठ २८ गते, भोजपुरमा ६८ वर्षीया निरकुमारी तामाङ आफ्नै छोराको खुर्पा प्रहारबाट ज्यान गुमाउँछिन्। आफ्नो आमाको हत्या गर्ने तामाङले आक्रोश र असन्तोषलाई नियन्त्रण गर्न नसक्दा एउटा निर्दोष जीवनको अन्त्य भयो।

त्यस्तै, २०८१ साउन २९ गते, पर्सामा ससुरा र ज्वाइँबीचको झगडाले एउटा परिवारको उज्यालो गुम्न पुग्यो। ६५ वर्षीय सिताराम सर्राफको आफ्नै ज्वाइँको कुटपिटबाट मृत्यु भयो। सानोतिनो विवादलाई समाधान गर्न नसक्दा परिवारभित्रको झगडा ज्यानै जाने स्तरमा पुग्न सक्छ भन्ने यो एउटा दुखद उदाहरण पनि हो।

साउन २६ गते सुनसरीको इटहरीमा घटेको घटना अझै भयावह छ। डेढ वर्षकी नाबालिग भतिजी आफ्नै काकाको क्रूरता सहन बाध्य भइन्। मानसिक रोगको सिकार बनेका शालिग्राम लुइँटेलले नाबालिग बालिकाको घाँटी र टाउकोमा ब्लेड प्रहार गरी हत्या गरे। मानसिक स्वास्थ्यलाई समयमै सम्बोधन गर्न नसक्दा यस्ता घटनाले भयावह रूप लिनसक्छन ।

भदौ २४ मा काभ्रेको पनौतीमा २१ वर्षीया प्रमिला भण्डारीले आफ्नै दुई वर्षीय छोरीलाई खोला किनारमा फालेर हत्या गरिन्। छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिन पुगेकी प्रमिलाको व्यवहारले सबैलाई झुक्यायो। तर, अनुसन्धानले उनी नै अपराधी देखायो । हिकाउँदा बेहोस भएपछि खोलामा फालेको आमाले स्वीकार समेत गरेको प्रहरीले सार्वजनिक गरेको थियो । एक आमाले आफ्नी छोरीलाई नै यस्तो कसरी गर्न सकिन्? यो प्रश्नले परिवारभित्रको गहिरो तनाव र निराशालाई उजागर गर्छ।

असोज २२ गते गोरखाको बोटेगाउँमा ३६ वर्षीया पूर्णमाया बोटे आफ्नै श्रीमान् पञ्चबहादुर बोटेको डोरीको पासोमा परेर ज्यान गुमईन् । वैवाहिक सम्बन्धभित्रको विश्वासको चुरो भत्किँदा यस्ता घटनाहरू हुने गरेका छन्। कार्तिक २३ मा तनहुँमा भएको अर्को घटनामा, ओमनारायण श्रेष्ठले आफ्नी श्रीमतीलाई बञ्चरो प्रहार गरी हत्या गरे। कारण भने  घरायसी झगडा नै थियो ।

त्यस्तै, मंसिर ४ मा रुकुममा ३२ वर्षीया दीपा कुमालले आफ्नै श्रीमान् मधु कुमालको हत्या गरिन्। चिर्पट प्रहारबाट श्रीमानको ज्यान लिँदै गर्दा दीपाले आफ्नो परिवारलाई नै विनाशको मार्गमा लगिन्। दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको थियो । यस्तै, पुष २१ मा सिन्धुलीमा ७६ वर्षीय डोमान सिंह सार्कीले आफ्नै ४९ वर्षीय छोरालाई हत्या गरे।  उनले आफ्नै माइला छोरा माथि घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको थियो । पितापुत्रबीचको सानो विवादले यति ठुलो रूप लिनु हाम्रो समाजको सम्बन्ध व्यवस्थापनमा देखिएको कमजोरीलाई झल्काउँछ।

लिइरहेको ज्यान scaledयी सबै घटनाले एउटा गहिरो प्रश्न उठाउँछ—हाम्रो समाज कहाँ चुकिरहेको छ? घर, जसलाई हामी सुरक्षाको पहिलो स्थान मान्छौँ, कहिलेकाहीँ हिंसाको केन्द्र कसरी बन्छ? यी अपराधहरू प्रायः घरभित्रैको असन्तोष, आर्थिक समस्या, र मानसिक रोगका कारण भएका छन्। भोजपुरकी निरकुमारी तामाङको घटना होस् वा काभ्रेको प्रिन्सिका भण्डारीको कथा, यसले एउटै चित्र देखाउँछ—परिवारभित्रको अव्यवस्थित सम्बन्ध र हाम्रो समाजको कमजोर संरचना।

यी माथिका त केही उदाहरण मात्रै हुन्, प्रहरीसँग भने यसको पुरा तथ्याङ्क छ । घरेलु हिंसाका घटनामा अत्यधिक वृद्धि भएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउछ ।  आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ८ घटना रेकर्ड भएकोमा यो क्रम, २०८१ सम्म पुग्दा १६ सय ३३ घटना रेकर्ड छन् । यस वर्षको मङ्सिरसम्म ४ सय ६७ घटनाहरू भइसकेका छन्। यो तथ्याङ्कले घरेलु हिंसामा गम्भीर वृद्धिको संकेत गर्दछ, जसको सामाजिक र मानसिक असर समाजका विभिन्न पाटोमा देखिरहेका छन् ।

घरेलु हिंसा एक यस्तो समस्या हो जसले समाजको संरचनालाई आघात पुर्‍याइरहेको छ। २०७६/०७७ बाट २०८१/८२ सम्म प्रत्येक वर्ष घटनाहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको देखिन्छ।

आर्थिक असन्तोष, पारिवारिक विवाद, मानसिक स्वास्थ्य समस्याहरू र समाजमा नितान्त बलियो सामाजिक संरचनाको अभावका कारण घरेलु हिंसामा वृद्धि भैरहेको छ । पछिल्लो समयको तथ्यांकले हिंसा बढेको मात्र होइन, यसको पछाडि लुकेका गम्भीर कारणहरूलाई पनि उजागर गरेको छ। परिवारका सदस्यहरू बीचको असहिष्णुता, परिवारिक समस्याहरू, अनि मानसिक दबाबको कारण यस्ता हिंसात्मक घटनाहरू निरन्तर बढिरहेका छन्। २०७८/७९ को तथ्यांकमा १३ सय ३३ घटनामा, भने २०८१/८२ मा १६ सय ३३ घटनामा घरेलु हिंसा पुगेको छ।

यस समयको तथ्याङ्कले घरेलु हिंसाका कारण भएका मृत्युमा वृद्धि भएको देखाउँछ। विशेषगरी, २०८०/८१ र २०८१/८२ का वर्षहरूमा ८१ र १० घटनामा कर्तव्यज्यानको हत्या भएको तथ्याङ्क प्रहरीसँग छ ।

घरेलु हिंसाका घटनाहरूले समाजमा एक नयाँ प्रकारको अस्थिरता र विश्वासको संकटलाई जन्म दिएको छ। जब परिवारभित्रको संरचना नै कमजोर हुन्छ, जहाँ विश्वास र माया पर्ने स्थान हो, त्यही स्थानले हिंसात्मक गतिविधिहरूलाई उत्पन्न गर्न सक्छ। यसले समाजमा मानसिक अस्थिरता र सामाजिक संरचनामा गहिरो विकृति ल्याउँछ। विशेष गरी, एक पिताले आफ्नी छोरीको हत्या गर्दा वा एक आमाले आफ्नी सन्तानको ज्यान लिनु, यसले परिवारका गहिरो तनाव र निराशालाई उजागर गर्छ।

पछिल्लो ५ वर्षको तथ्याङ्कक अनुसार नेपालका विभिन्न प्रदेशहरूमा घरेलु हिंसा वृद्धि भएको देखिन्छ । कोशी प्रदेशमा घरेलु हिंसा घटनाहरू लगातार बढिरहेका छन्। आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ८ घटनाबाट २०८०/८१ मा १६ सय ३३ पुगेका छन्। २०८१/०८२ को मङ्सिरसम्म ४ सय ६७ घटनाहरू रिपोर्ट भएका छन्।

मधेश प्रदेशमा पनि घरेलु हिंसा बढ़्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७६/०७७ मा ३५ सय २९ घटनाहरू थिए भने २०८०/८१ मा ५५ सय ९६ घटनाहरू पुगिसकेका छन्।  चालु आर्थिक वर्षको मङ्सिरसम्म २६ सय ७९ घटनाहरू रिपोर्ट भएका छन्।

बाग्मती प्रदेशमा २०७६/०७७ मा ११ सय २६ घटनाहरू थिए, भने २०८०/८१ मा १३ सय ३८ घटनाहरू रिपोर्ट भएका छन्। २०८१/०८२ मङ्सिरसम्म ५ सय ८७ पुगेको छ। काठमाडौं उपत्यकाको भने छुटै तथ्यांक छ,  २०७६/०७७ मा २४ सय ५९ घटनाहरू थिए, भने २०८०/८१ मा २४ सय ५८ घटनाहरू घटे । २०८१/०८२ मा ८ सय ५४ घटनाहरू देखिन्छ।

२०८०/८१ मा गण्डकीमा ५ सय १ घटनाहरू र लुम्बिनीमा २७ सय ९६ घटनाहरू रिपोर्ट भएका थिए भने २०८१/०८२ मङ्सिरसम्म यी घटनाहरू क्रमशः २ सय ३९ र १२ सय १६ पुगेका छन् । कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश मा घरेलु हिंसा घटनाहरू तुलनात्मक रूपमा कम भए पनि, २०८१/०८२ मङ्सिरसम्म ३ सय ६३ र ४ सय ८९ घटनाहरू रिपोर्ट भएका छन्।

घरेलु हिंसाका कारण कर्तव्यज्यानको संख्या पनि चिन्ताजनक छ। कोशी प्रदेश मा २०८०/८१ मा ३९ कर्तव्यज्यानका घटना भएका छन् भने २०८१/०८२ मङ्सिरसम्म मा ५ घटनाहरू घटेका छन् ।

समाधान के?

घरेलु हिंसा र पारिवारिक विवादका समस्याहरूको समाधानका लागि सबैभन्दा पहिला समुदायस्तरमा जनचेतना अभियानलाई बलियो बनाउनु आवश्यक छ। नेपाल प्रहरीले यस विषयमा ४० हजारभन्दा बढी जनचेतना कार्यक्रम सञ्चालन गरेको छ, जसले हिंसा रोक्नमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यस्ता कार्यक्रमहरूले मानिसहरूलाई पारिवारिक र मानसिक तनावका लक्षणहरू पहिचान गर्न र उनीहरूको समाधानमा मद्दत पुर्याउन सक्छ। समाजमा आएका संरचनात्मक परिवर्तन र मानसिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै, समयमै परामर्श र उपचारको सुविधा उपलब्ध गराउनु जरुरी छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीका अनुसार, "पहिला पनि यस्ता घटनाहरू घटेका होलान्, तर सूचनाको पहुँच र प्रचलनले अहिले घटनाहरू बढिरहेको जस्तो देखिन्छ।" अधिकारीका अनुसार, घटनाको वृद्धि तथ्यांकले पुष्टि गरेको छ र यसलाई सम्बोधन गर्न ४० हजारभन्दा बढी जनचेतना कार्यक्रमहरू सञ्चालन गरिएको छ। आवेग, झगडा, नशा सेवन, गलत सोच र पारिवारिक असन्तुष्टिहरू हिंसाका प्रमुख कारण हुन्।

मनोचिकित्सक र समाजशास्त्रीहरूले भनेका छन् कि हिंसाको प्रमुख कारण आवेग नियन्त्रणको कमी र मानसिक तनाव हो। त्यसैले, मानसिक स्वास्थ्य सेवाहरूको पहुँच विस्तार गर्न र परिवारभित्रको विश्वास र समर्थनलाई सुदृढ गर्न अत्यन्त आवश्यक छ। सामाजिक संरचनामा आएको परिवर्तन र मानसिक तनावलाई समयमै सम्बोधन नगर्दा हिंसा बढिरहेको भन्दै समाजशास्त्रीहरूले यसलाई एक गम्भीर चिन्ता मानिरहेका छन्।

लैंगिक समानता र परम्परागत सोचका विरुद्ध सामाजिक चेतना फैलाउनका लागि सरकारी र गैरसरकारी संस्थाहरूको समन्वय आवश्यक छ। कानूनी प्रक्रियामा ढिलाइ र पीडितको न्यायको अभावले घरेलु हिंसा र महिला विरुद्धका अपराधमा वृद्धि भएको महिला अधिकारकर्मीहरूको भनाइ छ। यसैकारण, सामाजिक र कानूनी संरचनामा सुधार गरिएमा मात्रै हिंसा नियन्त्रणमा ल्याउन सकिन्छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img