डेटा स्टोरीबालमैत्री घोषणा: कागजमा मात्रै सीमित, किशोरी आमा बन्ने क्रम कायमै

बालमैत्री घोषणा: कागजमा मात्रै सीमित, किशोरी आमा बन्ने क्रम कायमै

हेटौँडा |  ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नाराले गाउँदेखि सहरसम्म गुञ्जिरहेको छ। अभियानका नाममा लाखौं रुपैयाँ खर्च भइरहेको छ। तर यथार्थमा न बालविवाह रोकिएको छ, न २० वर्षमुनिका किशोरीहरू आमा बन्ने क्रममा खासै कमी आएको छ। सरकारी तथ्यांकले नै मकवानपुरका बालमैत्री भनेर घोषणा गरिएका पालिकाहरूभित्रै पनि किशोरी गर्भावस्था र बालविवाह यथावत् रहेको प्रमाणित गरेको छ।

बालमैत्री घोषणा: कागजमा सीमित

मकवानपुर जिल्लाका १० वटा पालिकामध्ये मनहरी गाउँपालिका २०७६ पुस २८ गते देशकै पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको हो। त्यसपछि मकवानपुरगढी गाउँपालिका २०७८ चैत १२, बकैया गाउँपालिका, र हेटौँडा उपमहानगरपालिका २०७८ फागुन १ गते क्रमशः बालमैत्री स्थानीय तहको सूचीमा सूचीकृत भए। तर, यी पालिकाहरूमा नै बालविवाह र किशोरी गर्भावस्थाको संख्या उल्लेख्य देखिन्छ।

बालमैत्री स्थानीय शासन अन्तर्गतका १० सूचकहरूमध्ये एक प्रमुख सूचक भन्छ: “स्थानीय तह बालविवाहमुक्त भएको हुनुपर्नेछ।”

तर स्थानीय तहको वास्तविकताले भने बालमैत्री घोषणाको मापदण्डलाई नै गम्भीर चुनौती दिइरहेको छ। गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा भन्छिन्, “बालमैत्री घोषणालाई कागजमै सीमित राखिएको छ, व्यवहारमा किशोरीहरू अझै पनि कम उमेरमै आमा बन्न बाध्य छन्। यस्तो अवस्थामा घोषणाको नै औचित्य प्रश्नमा परेको छ।”

उनको भनाइमा सरकारी तथा गैरसरकारी निकायहरूले बालबालिकाको नाममा करोडौं बजेट खर्च गरिरहेका छन्, तर त्यसको परिणाम धरातलमा देखिएको छैन। “ठूला होटलमा कार्यशाला, गोष्ठी र फोटो सेसन त हुन्छ, तर फिल्डमै गएर समस्याको मूल पहिचान गर्ने काम छैन। स्थानीयदेखि संघीय सरकारसम्म बालमैत्रीका नाममा बजेट छुट्याइए पनि नतिजा शून्यसरह देखिनु चिन्ताको विषय हो,” अध्यक्ष सापकोटाले भनिन्, “अब हाम्रो नारा नै साँचो हो कि केवल देखावटी, त्यसैमा प्रश्न उठ्न थालेको छ।”

चिन्ताजनक तथ्यांक: वर्षेनी सयौँ किशोरी आमा

जनस्वास्थ्य कार्यालय मकवानपुरले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा मात्र २० वर्षमुनिका ४३२ जना किशोरी आमा बनेका छन्। सोही अवधिमा जिल्लाभर ३ हजार ८४२ जना सुत्केरी भएका थिए। यसमा घरमै सुत्केरी हुनेको संख्या मात्रै ११३ रहेको छ।

जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार, तीमध्ये २० वर्षमुनिका ४४ जना सुत्केरी घरमै भएका हुन् भने २० वर्षभन्दा माथिका ९९ जनाले अस्पताल नगई घरमै सुत्केरी गराएका थिए।

तीन वर्षको तुलनात्मक अध्ययन

गत वर्षहरूमा पनि किशोरी सुत्केरी हुने स्थितिमा उल्लेख्य सुधार आएको देखिँदैन भने चालु आर्थिक वर्षको चैत्रसम्मको तथ्यांक हेर्दा पनि उस्तै अवस्था देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० मा मकवानपुर जिल्लामा जम्मा ५ हजार १७२ जना महिला सुत्केरी भएका थिए, जसमध्ये ५२९ जना (१०.२ प्रतिशत) २० वर्षमुनिका किशोरी थिए। तीमध्ये १६६ जनाले अस्पतालको सट्टा घरमै सुत्केरी गराएका थिए। त्यसैगरी, आर्थिक वर्ष २०८०/८१ मा कुल ४ हजार ४३० सुत्केरीमध्ये ४९१ जना (११.१ प्रतिशत) किशोरी रहेका थिए भने १२८ जनाले अझै पनि घरमै सुत्केरी गराएका थिए। चालु आर्थिक वर्षको चैत्रसम्मको तथ्यांक हेर्दा पनि उस्तै अवस्था देखिन्छ—कुल ३ हजार ८४२ सुत्केरीमध्ये ४३२ जना (११.२ प्रतिशत) २० वर्षमुनिका किशोरी छन्। यसले किशोरी उमेरमै आमा बन्ने दरमा सुधारको सट्टा स्थायित्व या झनै वृद्धि देखिएको संकेत गर्छ।

पालिका अनुसार किशोरी आमाको तथ्यांक (चालु आ.व., चैत्रसम्म)

पालिका अनुसार हेर्दा चालु आर्थिक वर्षको चैत्र महिनासम्मको विवरणले मकवानपुर जिल्लामा किशोरी गर्भावस्था अझै गम्भीर चुनौतीका रूपमा कायम रहेको देखिन्छ। जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मनहरी गाउँपालिकामा १८९ सुत्केरीमध्ये ३१ जना किशोरीहरू (२० वर्षमुनिका) थिए, जबकि मकवानपुरगढी गाउँपालिकामा ९१ सुत्केरीमध्ये २२ जना किशोरी आमा बनेका थिए। त्यस्तै, बकैया गाउँपालिकामा १८१ सुत्केरीमध्ये ३० जना किशोरीहरू थिए भने हेटौँडा उपमहानगरपालिकाजस्तो शहरी क्षेत्रमा २ हजार ५४४ सुत्केरीमध्ये २०१ जना किशोरी आमा बनेका छन् ।

अन्य पालिकातर्फ हेर्दा, कैलाश गाउँपालिकामा २१६ सुत्केरीमध्ये ३८ जना, थाहा नगरपालिकामा २०३ सुत्केरीमध्ये २५ जना, र बागमती गाउँपालिकामा १९६ सुत्केरीमध्ये ४५ जना किशोरी गर्भवती भई आमा बनेका थिए। यी तथ्यांकहरूले स्पष्ट संकेत गर्छन्—जिल्लाभर किशोरी गर्भावस्था र बालविवाहको दर अझै पनि चिन्ताजनक स्तरमै छ।

हेटौँडा अस्पतालको तथ्यांक

मकवानपुर जिल्लामा किशोरी गर्भावस्था अझै गम्भीर समस्या बनीरहेको कुराको पुष्टि जिल्ला सहकारी अस्पताल हेटौँडा अस्पतालको तथ्यांकले पनि गर्छ। पछिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको सुत्केरी विवरणले किशोरी अवस्थामा आमा बन्ने प्रवृत्ति लगातार कायम रहेको देखाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा अस्पतालमा कुल ३ हजार ३६० सुत्केरीमध्ये २५५ जना अर्थात् ७.६ प्रतिशत किशोरी आमा बनेका थिए। त्यसैगरी, २०७९/८० मा ३ हजार ८९६ सुत्केरीमध्ये २७६ जना किशोरी थिए, जुन ७.१ प्रतिशत हो। आर्थिक वर्ष २०८०/८१ मा भने २ हजार ९५३ सुत्केरीमध्ये २१८ जना अर्थात् ७.४ प्रतिशत किशोरी आमा बनेका थिए। चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्मको अवधिमा २ हजार ४७१ सुत्केरीमध्ये १८१ जना किशोरीले सुत्केरी सेवा लिएका छन्, जुन ७.३ प्रतिशत हो।

चालु वर्षमा कुनै पनि महिनामा किशोरी सुत्केरीको संख्या शून्यमा झरेको छैन। साउनमा २६, भदौमा १९, असोजमा १८, कात्तिकमा २३, मंसिरमा २२, पुसमा २१, माघमा १९, फागुनमा १७ र चैत्रमा २२ जना किशोरीले सुत्केरी सेवा लिएका छन्। यो समस्या केवल ग्रामीण वा आर्थिक रूपले कमजोर समुदायमा मात्र सीमित नभई शहरी र स्वास्थ्य सेवा पहुँचमा भएका क्षेत्रहरूमा समेत किशोरी गर्भावस्था निरन्तर देखिएको छ।

स्वास्थ्य जोखिम बढ्दो

२० वर्षभन्दा कम उमेरमा आमा बन्नुले आमा र नवजात शिशु दुवैको ज्यान जोखिममा पार्ने चिकित्सकहरूले बताएका छन्। हेटौँडा अस्पतालको प्रसूति वार्ड इन्चार्ज देवकी खतिवडाका अनुसार यस्तो उमेरमा गर्भवती हुनुले शारीरिक, मानसिक र सामाजिक रूपमा गम्भीर असर पार्छ।

“यो उमेरमा किशोरीहरूको शारीरिक बनावट, विशेषगरी पेल्भिक भाग पूर्ण रूपमा विकास भइसकेको हुँदैन,” इन्चार्ज देवकी खतिवडाले भनिन्, “यसले डेलिभरी गर्दा जटिलता ल्याउने सम्भावना अत्यधिक हुन्छ। कतिपय अवस्थामा शल्यक्रिया (सी-सेक्सन) पनि गर्नुपर्ने हुन्छ।”

उनका अनुसार कम उमेरमा आमा बनेका किशोरीहरूमा अत्यधिक रक्तस्राव, उच्च रक्तचाप, प्रसूति पछिको डिप्रेशन, र सामाजिक दबाबका कारण मानसिक स्वास्थ्यमा पनि गम्भीर असर देखिने गरेको छ।

नीति र वास्तविकता बिचको खाडल

सिभिन हेल्पलाइन-हेटौँडाका कार्यक्रम अधिकृत झवीन्द्र ज्ञवालीका अनुसार, चालु आर्थिक वर्षमा सिभिन हेटौँडामा मात्रै ६० वटा बालविवाहका केसहरू दर्ता भएका थिए, जसमा ५० केस समाधान भए पनि ती समाधानहरू धेरै लामो समयसम्म प्रभावकारी रहेनन्।

ज्ञवाली भन्छन्— “पछिल्लो समय प्रविधिको सही प्रयोग नहुनु, अभिभावकले छोराछोरीमाथि निगरानी नगर्नु र समाजमा अझै पनि बालविवाहलाई सहज रूपमा लिनु मुख्य चुनौतीहरू हुन्। धेरैजसो अवस्थामा, जान्दाजान्दै पनि किशोर-किशोरीहरू नै सानै उमेरमा विवाह गर्न आतुर देखिन्छन्, जुन प्रवृत्ति अझ खतरनाक दिशातर्फ गइरहेको संकेत हो।”

उनले आफूहरू सँगै काम गर्ने संस्थाहरूले न केवल चुनौतीको सामना गरिरहेका छन्, बरु थ्रेट (धम्की) पनि पाउन थालेको बताए। उनका अनुसार, पछिल्ला वर्षहरूभन्दा यो वर्ष स्थिति अझ जटिल र चुनौतीपूर्ण बनेको छ। अभिभावकहरू आफैंले आफ्ना बालबालिकालाई राम्रोसँग नियमन गर्न नसक्नु, सरकारी लगानीको प्रभावकारिता कमजोर हुनु र सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग समेत बालविवाह तथा किशोरी गर्भधारण बढ्नका पछाडि कारण रहेको उनले बताए ।

अभिभावक, शिक्षक र समुदाय सबैले मिलेर समस्या समाधानमा हातेमालो नगर्दासम्म यो समस्या गहिरिँदै जाने उनी बताउछन्।  ज्ञवालीको अनुसार, अहिलेको अवस्था उल्टो दिशातर्फ मोडिँदै छ। ‘हामीले बालविवाहलाई सामाजिक अपराधको रूपमा मात्रै होइन, सार्वजनिक स्वास्थ्यको संकटका रूपमा पनि बुझ्न आवश्यक छ,’ उनले भने, ‘बालमैत्रीको नारा केवल घोषणासम्म सीमित नरहोस् भने अब यथार्थमै परिवर्तन ल्याउने काम थाल्नुपर्छ।’

उनका अनुसार, स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था र प्रहरी प्रशासनबीच समन्वयको अभाव मुख्य समस्या हो।

समस्या समाधानभन्दा व्यवस्थापनमै सीमित

मकवानपुरका बालमैत्री पालिकाहरूको भित्री यथार्थले “बालमैत्री” भन्ने शब्दको नै औचित्यमाथि प्रश्न उठाएको छ। सरकार र गैरसरकारी निकायले करोडौँ खर्च गर्दा पनि बालविवाह र किशोरी गर्भावस्थामा उल्लेख्य सुधार नदेखिनु केवल घोषणामै सीमित प्रयासहरूको असफलता हो। ‘बिहेबारी २० वर्षपारी’जस्ता नाराको अर्थ केवल ब्यानर र पोस्टरमा सीमित हुँदा किशोरीहरूको जीवन संकटमा पर्दै गएको छ।

लाखौं रुपैयाँ खर्चेर गरिएका बालमैत्री घोषणाहरू व्यवहारमा कागजी सिद्ध भइरहेका छन्। सरकारी तथा गैरसरकारी निकायका कार्यक्रमहरू व्यवहारिक हस्तक्षेपभन्दा पनि कागज, फोटोसेसन र गोष्ठीमा सीमित देखिँदा किशोरी गर्भावस्था र बालविवाहजस्ता समस्यामा उल्लेख्य सुधार आउन सकेको छैन। स्थानीय तहदेखि संघीय सरकारसम्म नारा होइन, नतिजा केन्द्रित पहल गर्ने हो। किशोरी आमा बन्ने दर घटाउन स्वास्थ्य, शिक्षा र सामाजिक चेतनाको समन्वित कार्य योजना अघि बढाउनैपर्छ। यदि नीति, बजेट र कार्यक्रमहरू व्यवहारमै लागू गरिएनन् भने, ‘बिहेबारी २० वर्ष पारी’ जस्ता नाराहरू अझै पनि केवल नारामा सीमित हुनेछन्—आश्वासन होइन, प्रमाण चाहिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img