हेटौँडा। मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू स्पष्ट अग्रतासहित अघि बढेका छन्। प्रारम्भिक मतगणनाको परिणामले रास्वपा उम्मेदवारहरूको जित लगभग निश्चितजस्तै देखिएको छ। जसलाई ‘म्याराथन’ शैलीको अग्रता भनेर टिप्पणी गर्न थालिएको छ ।
हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा शुक्रबार दिउँसो १२ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतम १९ हजार २३५ मतसहित अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका रामेश्वर राना ३ हजार ९९९ मतसहित पछ्याइरहेका छन्। यस अनुसार गौतमले प्रतिस्पर्धीभन्दा करिब १५ हजारभन्दा बढी मतको फराकिलो अन्तर बनाएका छन्।
यसै क्षेत्रमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ ले ३ हजार ४९५ मत प्राप्त गरेकी छन् भने राप्रपाका दीपक सिंह ले २ हजार ३७६ र नेपाल कम्युनिस्ट पार्टीका विजय गौतम ले १ हजार १६१ मत प्राप्त गरेका छन्। प्रारम्भिक गणनाले रास्वपा उम्मेदवारको मत प्रतिस्पर्धीहरूको तुलनामा चारदेखि पाँच गुणासम्म बढी देखाएको छ।
यस्तै मकवानपुर–२ मा पनि रास्वपाका प्रशान्त उप्रेती बलियो अग्रतासहित अघि बढिरहेका छन्। शनिबार बिहान ९ बजेसम्मको मत परिणामअनुसार उनले ११ हजार ९३३ मत प्राप्त गरेका छन्। उनलाई नेकपा एमालेका महेश कुमार बर्तौला ले ५ हजार ७८६ मतसहित पछ्याइरहेका छन्। यस क्षेत्रमा उप्रेतीले प्रतिस्पर्धीभन्दा ६ हजारभन्दा बढी मतको अग्रता कायम गरेका छन्।
यसै क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीका लवशेर विष्ट ले ५ हजार ६४३ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बुद्ध लामा ले ५ हजार २९ मत पाएका छन्।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लामा रहेका ३ लाख १५ हजार ३३४ मतदातामध्ये १ लाख ८६ हजार ५५१ मत खसेको छ, जुन करिब ५९ प्रतिशत मतदान हो।
निर्वाचन क्षेत्र नम्बर–१ मा ९५ हजार ३१० मत खसेको छ भने निर्वाचन क्षेत्र नम्बर–२ मा ९१ हजार २४१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
मकवानपुर जिल्लामा १६७ मतदान स्थल र ३७६ मतदान केन्द्र मार्फत मतदान सम्पन्न गरिएको थियो। अहिले मतगणना हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयका दुई ब्लकमा जारी छ।
विश्लेषकहरूका अनुसार मकवानपुरमा रास्वपाको बलियो उपस्थितिको मुख्य कारण युवा मतदाताको समर्थन, भ्रष्टाचारविरुद्धको एजेन्डा र वैकल्पिक नेतृत्वको खोजी हो। परम्परागत दलप्रति बढ्दो असन्तुष्टि र परिवर्तनको चाहनाले पनि रास्वपा उम्मेदवारहरूलाई ठूलो मतान्तरसहित अघि बढ्न मद्दत गरेको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।



