काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरूले प्रमुख दलका शीर्ष नेतासँग फराकिलो अग्रता कायम गरेका छन्। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह नेपाली कांग्रेसका सभापति गगनकुमार थापाभन्दा ६ हजारभन्दा बढी मतले अगाडि रहेका छन् भने झापा–५ मा रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन्द्र शाह (बालेन) ले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतान्तर झन् बढाएका छन्।
मतगणनाको पछिल्लो विवरणअनुसार सर्लाही–४ मा सिंहले १४ हजार ४३४ मत प्राप्त गरेका छन्। कांग्रेस सभापति थापाको पक्षमा ८ हजार ४६२ मत गणना भएको छ। यस अनुसार सिंहले थापाभन्दा ६ हजार २ मतको अग्रता कायम गरेका छन्। यसै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अमनिश यादवले २ हजार २६१ मत प्राप्त गरेका छन्।
यता झापा–५ मा रास्वपाका उम्मेदवार बालेन शाहले एमाले अध्यक्ष ओलीसँगको मतान्तर उल्लेख्य रूपमा बढाएका छन्। पछिल्लो परिणामअनुसार बालेनले ३९ हजार २८४ मत प्राप्त गरेका छन् भने ओलीले १० हजार २९३ मत ल्याएका छन्। यस अनुसार बालेनले ओलीभन्दा २९ हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन्।
यसै क्षेत्रमा श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ ६ हजार ३२४ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले १ हजार ९६ मत प्राप्त गरेकी छन्। अन्य उम्मेदवारहरूले भने चार अंकभन्दा माथि मत जोड्न सकेका छैनन्। नेपाल कम्युनिस्ट पार्टीका रञ्जित तामाङले ९४१ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ८६१ मत प्राप्त गरेका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार झापा–५ मा हालसम्म ६२ हजार १ सय मत गणना भइसकेको छ। तीमध्ये ५९ हजार ५५१ मत सदर भएका छन् भने २ हजार ५४९ मत बदर भएको जनाइएको छ।



