हेटौँडा । मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू प्रारम्भिक मतगणनामा प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतसहित अग्रस्थानमा देखिएका छन्।
हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा दिउँसो १२ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो विवरणअनुसार मकवानपुर क्षेत्र नम्बर–१ मा रास्वपाका प्रकाश गौतम १ हजार ८५४ मतसहित अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले ६६२ मतसहित पछ्याइरहेकी छन्।
त्यस्तै राप्रपाका दीपक सिंहले ३१२ मत, नेकपा एमालेका रामेश्वर रानाले २९१ मत र नेपाल कम्युनिष्ट पार्टीका विजय गौतमले ९६ मत प्राप्त गरेका छन्। हालसम्म यस क्षेत्रमा ३ हजार ४६८ मत गणना भइसकेको छ।
यता मकवानपुर क्षेत्र नम्बर–२ मा पनि रास्वपाका उम्मेदवार प्रशान्त उप्रेती बलियो अग्रतासहित अघि बढिरहेका छन्। उनले २ हजार ११७ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका बुद्ध लामाले ९६२ मतसहित पछ्याइरहेका छन्।
यसैगरी नेकपा एमालेका महेश कुमार बर्तौलाले ६३० मत र नेपाल कम्युनिष्ट पार्टीका लवशेर बिष्टले २१२ मत प्राप्त गरेका छन्। हालसम्म यस क्षेत्रमा ४ हजार ६१ मत गणना भइसकेको छ।
यसअघि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। जिल्ला निर्वाचन कार्यालय मकवानपुरका अनुसार जिल्लामा रहेको ३ लाख १५ हजार ३३४ मतदातामध्ये १ लाख ८६ हजार ५५१ मत खसेको छ, जुन करिब ५९ प्रतिशत हो।
मतदान गर्नेहरूमध्ये ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र ५ जना तेस्रो लिङ्गी रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर–१ मा ९५ हजार ३१० मत खसेको छ भने निर्वाचन क्षेत्र नम्बर–२ मा ९१ हजार २४१ मत खसेको छ। मकवानपुरमा १६७ मतदान स्थल र ३७६ मतदान केन्द्र मार्फत मतदान सम्पन्न गरिएको थियो।
मतगणना हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयका दुई ब्लकमा भइरहेको छ। जिल्लाका केही दुर्गम मतदान केन्द्रबाट मतपेटिका संकलनका लागि छिमेकी जिल्लाको सडक प्रयोग गर्नुपरेको थियो। बकैया गाउँपालिका र राक्सिराङ गाउँपालिकाका आठ मतदान केन्द्रमा सडक पहुँच नपुगेकाले रौतहट, बारा र चितवन हुँदै मतपेटिका ल्याइएको थियो।



