फिचर‘रास्वपा दुःख गर्नेहरूको पार्टी भएन’ भन्दै कांग्रेस फर्किए जिल्ला सभापती पराजुली, टिकट...

‘रास्वपा दुःख गर्नेहरूको पार्टी भएन’ भन्दै कांग्रेस फर्किए जिल्ला सभापती पराजुली, टिकट वितरणप्रति देखिएका थिए असन्तुष्ट

हेटौँडा | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरत पराजुली नेपाली कांग्रेसमै फर्किएका छन्। सोमबार सर्लाहीमा आयोजित कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले पराजुलीलाई खादा ओढाएर औपचारिक रूपमा पार्टी प्रवेश गराएका हुन्।

रास्वपा गठनअघि नेपाली कांग्रेसमै सक्रिय रहेका अर्याल पुनः पुरानै पार्टीमा फर्किएका हुन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका थिए।  पराजुलीले पश्चिमी मकवानपुरमा प्रभावशाली मत प्रभाव देखाए पनि निर्वाचन जित्न सकेका थिएनन्।

आउँदो प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट टिकट पाउने सम्भावना बलियो देखिँदै आएको थियो। तर प्रतिनिधिसभा निर्वाचनमा टिकट वितरणपछि पार्टी निर्णयप्रति उनी असन्तुष्ट देखिएका थिए। स्रोतका अनुसार पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा पारदर्शिता नदेखिएको भन्दै उनी नेतृत्वप्रति रुष्ट बनेका थिए। बालेन शाहको सचिवालयमा काम गरेका प्रशान्त उप्रेतीलाई टिकट दिइएपछि पराजुली थप असन्तुष्ट बनेको चर्चा थियो।

‘रास्वपा दुःख गर्नेहरूको पार्टी भएन’

कांग्रेस प्रवेश कार्यक्रममा बोल्दै पराजुलीले रास्वपाप्रति कडा टिप्पणी गरे।  “मैले लामो समय कांग्रेसको प्लेटफर्ममा बसेर राजनीति सिकेँ। देशको अभिभावकत्व, समृद्धि र भविष्यका लागि नेपाली कांग्रेस नै उपयुक्त पार्टी हो भन्ने निष्कर्षमा पुगेँ,” उनले भने, “रास्वपा भनेको हाटबजार जस्तो क्षणिक जोशको राजनीति रहेछ। भ्रामक र उत्तेजक भाषणले जनतालाई प्रभावित गर्न खोजिए पनि व्यवहारमा देश बिगार्ने काम भइरहेको मैले त्यहाँ बसेर अनुभव गरेँ।”

उनले गगन थापाजस्तो युवा नेतृत्वका कारण कांग्रेसप्रति नयाँ भरोसा जागेको बताए।  “यदि पुरानै ढर्राको कांग्रेस हुन्थ्यो भने सायद म फर्किनँ थिए होला। तर राजनीतिक संस्कार, क्षमता र देशलाई निकास दिन सक्ने नेतृत्व गगन थापाज्यूमा देखेर म आफ्नो पुरानो घर फर्किएको हुँ,” पराजुलीले भने।

हिजोको फोन संवादमै देखिएको असन्तुष्टि

पराजुली कांग्रेस प्रवेश गर्नुअघि हिजो ‘इन्फो नेपाल’सँगको टेलिफोन संवादमा पार्टीभित्रको असन्तुष्टि खुलस्त व्यक्त गरेका थिए। उनले जिल्ला सभापतिलाई नै कार्यक्रमबारे आधिकारिक जानकारी नआएको, निर्णय प्रक्रियामा पारदर्शिता नदेखिएको र संगठन निर्माणमा खटिएका नेताहरूको मूल्यांकन नहुने गुनासो गरेका थिए।

“मैले पार्टी बनाउन योगदान दिएको हुँ, तर संगठन बिग्रिँदै गएको देखेँ,” उनले कुराकानीका क्रममा बताएका थिए। टिकटको विषयले आफू निराश बनेको संकेत पनि उनले अप्रत्यक्ष रूपमा दिएका थिए।

 निर्वाचन नजिकिँदै गर्दा संगठनभित्र असन्तुष्टि देखिनु र पुराना नेताहरूको बहिर्गमनले पार्टीको स्थानीय संरचनामा प्रत्यक्ष असर पार्ने विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img