कोशी | केही वर्षअघिसम्म पारम्परिक कृषि प्रणालीमा निर्भर रहेका संखुवासभाका किसानहरू अब व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित हुँदै गएका छन्। उनीहरूका लागि रुद्राक्ष खेती आम्दानीको भरपर्दो स्रोत मात्र नभएर एक प्रतिष्ठित व्यवसायका रूपमा स्थापित भइरहेको छ। पहाडी भूगोल, उचाइ, र मौसमको अनुकूलताले गर्दा संखुवासभा जिल्लाका विभिन्न स्थानहरूमा रुद्राक्ष उत्पादन व्यापक रूपमा फैलिएको छ।
संखुवासभाका किसानहरूले व्यावसायिक रूपमा रुद्राक्ष खेती अपनाएपछि जिल्लाभर वार्षिक १५ देखि २० करोड रुपैयाँको आर्थिक कारोबार भइरहेको छ। किसानहरूका अनुसार यो संख्या हरेक वर्ष बढ्दै गएको छ। रुद्राक्ष खेतीलाई स्थानीयस्तरमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्यसहित किसानहरू आधुनिक कृषि प्रणाली अवलम्बन गर्न थालेका छन्।
स्थानीय व्यवसायी टेकबहादुर चौहानका अनुसार नेपालमा उत्पादन हुने रुद्राक्षको माग मुख्य रूपमा भारत, चीन, युरोप र अमेरिकामा रहेको छ। नेपालमा उत्पादित रुद्राक्ष विशेषगरी धार्मिक एवं आध्यात्मिक प्रयोगका लागि उच्च प्राथमिकतामा पर्ने भएकाले यसको व्यापार विश्वव्यापी रूपमा विस्तार भइरहेको छ।
मुखद्धार रुद्राक्षको मूल्य उच्च
बजारमा सबैभन्दा बढी माग मुखद्धार (अनेक मुख भएका) रुद्राक्षको रहेको छ। विशेष गरी २१ मुखे रुद्राक्षको मूल्य अत्यधिक रहेको छ, जुन २० लाखदेखि ६० लाख रुपैयाँसम्म पर्न सक्छ। अन्य मुखद्धार दानाहरूको मूल्य पनि आकार र मागअनुसार निर्धारण हुन्छ।
व्यवसायी चौहानका अनुसार ८ देखि २९ मुखे दानालाई मुखद्धार भनिन्छ। आठ र बाह्र मुखे रुद्राक्ष १ हजार ५ सय देखि ५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन् भने १३ मुखे ५ हजार देखि १५ हजार, १४ र १५ मुखे १० हजार देखि ५० हजार, १६ मुखे ५० हजारदेखि १ लाख, १७ मुखे ७० हजारदेखि २ लाख, र १८ मुखे १ लाख ५० हजारदेखि ४ लाख रुपैयाँसम्ममा बिक्री हुने गरेको छ।
रुद्राक्षको बढ्दो मागका कारण किसानहरूले परम्परागत खेती प्रविधिलाई परिमार्जन गर्दै नयाँ प्रविधिहरू अवलम्बन गरिरहेका छन्। रुद्राक्षको उत्पादन राम्रो बनाउन र रोगप्रतिरोधी बनाउनका लागि किसानहरूले जैविक मल तथा केही औषधिहरूको प्रयोग गर्ने गरेका छन्।
एक स्थानीय किसान भुवन गुरूङ भन्छन्, “हामीले पहिले सामान्य रूपमा रुद्राक्ष खेती गर्थ्यौं, तर अहिले यसलाई व्यावसायिक रूपमा अगाडि बढाएका छौं। पहिले उत्पादन कम हुन्थ्यो, अहिले उन्नत प्रविधि अपनाएर र जैविक मल प्रयोग गरेर उत्पादन बढाएका छौं।”
गुरूङका अनुसार राम्रो गुणस्तरको रुद्राक्ष उत्पादन गर्न विशेषगरी पानीको व्यवस्थापन, रोग नियन्त्रण, र सही समयमा मलजल गर्ने विधिहरू अपनाउन आवश्यक हुन्छ।
चोरीको समस्या र सुरक्षा चुनौती
व्यापक उत्पादन भइरहेको भए पनि, संखुवासभामा रुद्राक्ष खेतीमा केही चुनौतीहरू पनि देखिएका छन्। विशेष गरी चोरीको समस्या किसानहरूका लागि टाउको दुखाइको विषय बनेको छ।
रुद्राक्ष खेती गर्ने किसानका अनुसार रातिको समयमा बोटमा लागेका दाना चोरी हुने र कहिलेकाहीं त बोटसमेत काटेर लैजाने घटनाहरूसमेत बढ्दै गएका छन्। चोरी रोक्नका लागि किसानहरूले सुरक्षाका लागि विभिन्न उपायहरू अपनाएका छन्, जस्तै– खेतबारीमा तारबार लगाउने, रातिको समयमा पहरा दिने, र सामूहिक रूपमा सुरक्षा निगरानी गर्ने।
स्थानीय किसान हिरा राई भन्छिन्, “हामीले बोटमै रुद्राक्ष झुन्ड्याएर सुकाउने गर्छौं, तर केही समययता चोरीको समस्या बढेको छ। राति पहरा बस्नुपर्छ, किनभने मानिसहरू आएर चोरी गर्छन्। सरकारले यदि सुरक्षा दिनसक्छ भने यो व्यवसायलाई अझ व्यावसायिक बनाउन सकिन्छ।”
रुद्राक्षको ऐतिहासिक पृष्ठभूमि
नेपालमा रुद्राक्ष खेतीको इतिहास हेर्दा, विसं १९३२ भन्दा पहिले भारतको काशीबाट ल्याएर बालागुरु षडानन्द अधिकारीले भोजपुरको दिङ्लामा रोपेको भनाइ पाइन्छ। त्यसपछि पूर्वी नेपालका पहाडी जिल्लाहरूमा रुद्राक्ष खेती विस्तार भएको हो।
विज्ञहरूका अनुसार समुद्री सतहदेखि १४ सय मिटर उचाइसम्म रुद्राक्ष खेती गर्न सकिन्छ। संखुवासभाका हावापानी, माटो, र उचाइका कारण यहाँको रुद्राक्षलाई उच्च गुणस्तरको मानिन्छ।
संखुवासभामा हाल करिब २ हजार भन्दा बढी किसान व्यावसायिक रूपमा संलग्न छन्, जसले प्रमुख आम्दानीको स्रोतकै रूपमा रुद्राक्ष खेतीलाई अँगालेका छन्। तर, सरकारी नीति तथा लगानीको अभावका कारण व्यवसायिक विस्तारमा केही अवरोधहरू देखिएका छन्। किसानहरूका अनुसार सरकारले नीतिगत व्यवस्थापन गरेमा रुद्राक्ष खेतीबाट अझ ठूलो आर्थिक अवसर सिर्जना गर्न सकिन्छ।
स्थानीय व्यवसायीहरू भन्छन्, “यदि सरकारले निर्यात प्रक्रियालाई सरल बनाउने नीति ल्यायो भने हामीले अन्तर्राष्ट्रिय बजारमा अझ राम्रो मूल्यमा रुद्राक्ष बेच्न सक्ने थियौं। अहिले पनि व्यापार राम्रो छ, तर सरकारी सहयोग भए अझ राम्रो हुनसक्छ।”
विशेषगरी, रुद्राक्ष खेतीलाई सहुलियत ऋण, प्राविधिक तालिम, बीमा, र अनुसन्धानका माध्यमबाट प्रवर्द्धन गर्न सके नेपालले यसलाई एक प्रमुख निर्यातमुखी व्यवसायका रूपमा विकास गर्न सक्छ।
संखुवासभामा रुद्राक्ष खेती व्यावसायिक रूपमा फस्टाउँदै गएको छ। किसानहरूले परम्परागत कृषि प्रणालीलाई छाडेर व्यावसायिक र वैज्ञानिक कृषि प्रविधिहरू अपनाइरहेका छन्। उत्पादन र आम्दानी दुवै बढ्दै गएको छ भने चोरी जस्ता केही चुनौतीहरू रहेका छन्।