मकवानपुर । विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सीले २० वर्षभन्दा लामो यात्रापछि अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट औपचारिक बिदाइ लिएका छन्। ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा उपस्थित ८५ हजार दर्शकमाझ उनले आफ्नो २०८औँ तथा अन्तिम खेल खेल्दै भावुक बिदाइ लिएका हुन्।
३९ वर्षीय मेस्सीले आफ्नो अन्तिम खेलमा पनि १ गोल गर्नुका साथै २ गोलका लागि अवसर सिर्जना (असिस्ट) गरे। खेल सकिएपछि समर्थक तथा सहकर्मीहरूलाई सम्बोधन गर्दै उनले अर्जेन्टिनाको जर्सी लगाउन पाउनु आफ्नो जीवनकै सबैभन्दा ठूलो गर्वको विषय भएको बताए। “मैले कहिल्यै संघर्ष गर्न छाडिनँ, आफ्नो सम्पूर्ण क्षमता दिन कहिल्यै पछि हटिनँ,” भावुक हुँदै उनले भने।
सन् २००५ मा सिनियर टोलीबाट डेब्यु गरेका मेस्सीले लामो समयको निराशापछि सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप ट्रफी दिलाएका थिए। उनले राष्ट्रिय टोलीको सुख-दुःखमा साथ दिने समर्थक र सहकर्मीहरूलाई धन्यवाद दिँदै आगामी नयाँ पुस्तालाई एकताबद्ध भएर अघि बढ्न सुझाव दिए।
बिदाइ खेलअघि मेस्सीलाई खेलकुद र समाजमा पुर्याएको योगदानको कदर गर्दै ब्युनस आयर्स विश्वविद्यालय (UBA) ले मानार्थ विद्यावारिधिको उपाधिसमेत प्रदान गरेको थियो। ८ पटकका बालोन डी’ओर विजेता मेस्सीले अब मैदानबाहिर रहेर राष्ट्रिय टोलीको समर्थकका रूपमा साथ दिने प्रतिबद्धता जनाएका छन्।



