मदिरा सेवन गर्ने लत त्याग्न नसक्दा साझा प्रकाशनका एक कर्मचारीले अन्ततः जागिर गुमाउनु परेको छ ।
साझाको राजविराजस्थित शाखा कार्यालयमा कार्यरत सहायक द्वितीय प्रितम गिरी पटक-पटक मादक पदार्थ सेवन गरेर कार्यालय गएपछि उनलाई सेवाबाट हटाइएको हो ।
मादक पदार्थ सेवनसँगै बिनाजानकारी कार्यालय अनुपस्थित भएपछि उनलाई साझा प्रकाशन कर्मचारी प्रशासन नियमावली २०७३ को नियम ३०.१ अनुसार कारबाही गरिएको साझाले जनाएको छ ।ऐनको यो बुँदामा कुनै कर्मचारीले पदीय आचरणविपरीत अनुशासनहीन काम गरेमा संगठित संस्थाको सेवामा अयोग्य नठहरिने गरी कारबाही गर्ने प्रावधान छ ।
उता, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक कर्मचारी पनि अनुशासनहीन काम गरेपछि स्पष्टीकरणको झमेलामा फसेका छन् । मन्त्रालयका बाली संरक्षण अधिकृत भीम चौलागाईं स्वीकृतबेगर आफूखुसी बिदा बसेपछि मन्त्रालयले आइतबार उनलाई स्पष्टीकरण सोधेको हो ।मन्त्रालयका अनुसार चौलागाईं ०७६ साउन १५ देखि बिनाजानकारी अनुपस्थित छन् । सम्पर्कका लागि आग्रह गरिएकोमा उनी नजोडिएको मन्त्रालयको भनाइ छ ।
९० दिनभन्दा बढी समय लगातार बिना जानकारी अनुपस्थित भएपछि निजामती सेवा ऐनको दफा ६१(१) (६) अनुसार उनलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।बिना जानकारी कार्यालय अनुपस्थित कुनै कर्मचारीले ३० दिनभित्र मागिएको स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिए निजामती सेवा ऐनको दफा ५९ को खण्ड (ख) अनुसार बर्खास्त गर्ने प्रावधान छ ।साङ्केतिक फोटो