देशको हुन् सुशीला कार्की ?

को हुन् सुशीला कार्की ?

काठमाडौँ । नेपालको राजनीतिक र न्यायिक इतिहासमा सुशीला कार्की एक असाधारण नाम बनेकी छिन् । हालै अन्तरिम सरकारको नेतृत्व सम्हाल्दै उनी नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । यसअघि पनि उनले मुलुकको न्यायपालिकामा पहिलो महिला प्रधानन्यायाधीश बनेर कीर्तिमान बनाएकी थिइन् । दुई महत्वपूर्ण संवैधानिक निकायको नेतृत्वसम्म पुग्ने उनको यात्रा संघर्ष, इमानदारी र दृढताले भरिएको छ ।

वि.सं. २००९ जेठ २५ गते विराटनगरमा जन्मिएकी कार्कीको बाल्यकाल राजनीतिक परिवेश र लोकतान्त्रिक आन्दोलनसँग जोडिएको थियो । महेन्द्र मोरङ क्याम्पसबाट बीए, बनारस हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गरेर उनले आफ्नो शैक्षिक यात्रा पूरा गरिन् । पढाइपछि उनले धरानको महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन पनि गरिन् ।

२०३५ सालदेखि वकालत पेशामा प्रवेश गरेकी कार्कीले थोरै समयमै आफ्नो क्षमता देखाइन् । विराटनगरको पुनरावेदन अदालतमा बार अध्यक्ष बनेपछि उनको पहिचान अझ मजबुत बन्यो । उनी २०६१ सालमा वरिष्ठ अधिवक्ता भइन् र २०६५ मा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश नियुक्त भइन् । २०६७ सालमा स्थायी न्यायाधीश बनेर उनले आफ्नो न्यायिक यात्राको अर्को अध्याय सुरु गरिन् ।

उनको करिअरमा धेरै निर्णायक क्षणहरू आए । तत्कालीन सञ्चारमन्त्री जेपी गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि उनी चर्चामा आइन् । त्यसपछि अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको मुद्दा उठाउने उनको निर्णय ऐतिहासिक ठहरियो, जसको परिणामस्वरूप लोकमान पदमुक्त भए । यी घटनाले सुशीला कार्कीलाई दृढ, निडर र इमानदार न्यायाधीशको रुपमा स्थापित गर्‍यो ।

२०७३ सालमा उनी प्रधानन्यायाधीश बनिन्, तर उनको ११ महिनाको कार्यकाल सजिलो भएन । तत्कालीन सरकारसँग आईजीपी नियुक्तिबारेको विवादपछि उनमाथि महाअभियोग दर्ता भयो, तर अदालतकै आदेशमा उनी फर्काइएकी थिइन् । अवकाशको अन्तिमतिर सुडान घोटालाबारेको फैसलामा आलोचना खेप्नुपरे पनि उनको समग्र छवि भ्रष्टाचारविरोधी न्यायाधीशकै रुपमा रह्यो ।

कार्कीको व्यक्तिगत जीवन पनि संघर्षमय रह्यो । उनले वकिल दुर्गा सुवेदीसँग विवाह गरिन्, जसले उनको यात्रामा साथ र प्रोत्साहन दिए । कांग्रेसको कोइराला परिवारसँग नजिकको पारिवारिक पृष्ठभूमिबाट आएकी उनी राजनीतिको कठोर वास्तविकता बुझ्दै अघि बढेकी थिइन् ।

न्यायालयबाट निवृत्त भएपछि पनि उनी भ्रष्टाचार र कुशासनविरुद्ध आवाज उठाइरहिन् । यही कारण जेनजी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथलमा संसद् विघटनपछि अन्तरिम सरकारको नेतृत्व गर्ने जिम्मेवारी उनको काँधमा आएको हो । केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरूबीच सहमति जुट्दै जब अन्तरिम सरकारको खोजी भयो, त्यसमा सबैभन्दा निष्पक्ष, विश्वासिलो र अनुभवी व्यक्तिका रूपमा सुशीला कार्की अगाडि आइन् ।

आज उनी नेपालको पहिलो महिला प्रधानमन्त्री बनेकी छिन् । न्यायिक पृष्ठभूमिबाट सरकारको कार्यकारी प्रमुखसम्म पुग्नु उनको जीवनको अर्को ऐतिहासिक अध्याय हो ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img