काठमाडौं | जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह भइरहेको छ।
महाशाखाका अनुसार हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भूभागमा साधारणतया बदली छ भने बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहने र कोशी, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको चेतावनी दिइएको छ।
आज राति पनि देशभर साधारणतया बदली रहने र सुदूरपश्चिम प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज सूर्य बिहान ५ बजेर ४३ मिनेटमा उदाएको र साँझ ६ बजेर २५ मिनेटमा अस्ताउने महाशाखाले जनाएको छ।



