सुनसरी / धरानको जंगलमा घाँटी र शरिर छुट्याईएको अवस्थामा फेला परेको शवको पहिचान भएसँगै घटनामा संग्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
फाल्गुन ४ गते बेलुका ५ बजे उक्त स्थानमा जेब्रा झोलामा प्याक गरेर फालेको अबस्थामा टाउको र शरिरका बिभिन्न भागहरु छुट्टाछुट्टै अवस्थामा फेला परेको थियो ।
टुक्रा टुक्रा अवस्थामा शव फेला परे सँगै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समुह, जिल्ला प्रहरी कार्यालय सुनसरीको अनुसन्धान समुह र तालिम प्राप्त कुकुर सहितको प्रहरी टोलीले अनुसन्धान शुरु गरेको थियो ।
शव पहिचान गर्ने क्रममा बाझो-१ घर भई हाल विराटनगर महानगरपालिका-३ मा बसोबास गर्दै आएका ४३ बर्षीय दिनेश सिग्देलको रहेको खुल्न आएको हो । शवको पहिचान भएसगै घटनामा संग्लग्न ब्यक्तिहरुको खोजतलास गर्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मृतककै श्रीमती ३० बर्षीया अनिता के.सी. र विराटनगर महानगरपालिका-४ का २९ बर्षीय सरोज भण्डारी रहेका छन् । बैदेशिक रोजगारीमा गएर फर्केका सिग्देललाई श्रीमतीको योजनामा पौष २२ गते साँझ साँढे ५ बजेको समयमा सिग्देलकै घर कोठामा घाँटी थिची हत्या गरेको खुल्न आएको छ ।
दुबै जना मिलेर हत्या गरे पश्चात पौष २३ गते ग्लेन्डर मेशीन र खुकुरी समेतको प्रयोग गरी शवलाई टुक्रा टुक्रा पारी टेम्पो रिजर्व गरेर हाल शव फेला परेको स्थानमा लगेर फालेको खुल्न आएको हो ।
यसरी श्रीमतीकै मिलेमतोमा हत्या भएको खुल्न आएसँगै दुबै जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।