Friday, May 16, 2025
समाजहेटौँडा अस्पतालको बोर्ड मेटाएको आरोपमा पक्राउ परेका ६ जना युवा २४ घन्टामै...
spot_img

हेटौँडा अस्पतालको बोर्ड मेटाएको आरोपमा पक्राउ परेका ६ जना युवा २४ घन्टामै रिहा

spot_img

हेटौँडा | हेटौँडा अस्पतालको बोर्ड मेटाएको अभियोगमा पक्राउ परेका ६ जना युवा शुक्रबार थुनामुक्त भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरको आदेशअनुसार जनही ७ सय रुपैयाँ जरिवाना तिरेपछि उनीहरू रिहा भएका हुन्।पक्राउ पर्नेमा हेटौँडा–५ का विशालराज महत, हेटौँडा–४ का सुनिल गिरी, हेटौंडा–६ का सफल अधिकारी, मकवानपुरगढी–५ का राजकुमार घिमिरे, साथै अस्मित अधिकारी र समुन्द्र दाहाल रहेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार, प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठको आदेशमा उनीहरूलाई जनही १ हजार रुपैयाँ जरिवाना तिराएर रिहा गर्न भनिएको थियो। तर हिरासतमा बसेको एक रातको ३ सय रुपैयाँ जरिवाना कट्टा गरी जनही ७ सय रुपैयाँ तिराइएको उनले बताए।

गत आइतबार बिहान साढे १० बजेतिर हेटौँडा अस्पतालको बोर्डमा उल्लेख ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ भन्ने नाम मेटाएर ‘हेटौँडा अस्पताल’ लेखिएको फ्लेक्स राखिएको थियो। सो घटनापछि सरकारी सम्पत्तिमा तोडफोड तथा बलजफ्तीको अभियोग लगाउँदै प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।

युवाहरू पक्राउ परेपछि हेटौँडामा आन्दोलन चर्किएको थियो। ‘एमाले सिडिओ फिर्ता जा’, ‘हेटौंडा अस्पताल बचाऊ’, ‘प्रहरी दमन बन्द गर’ जस्ता नारा लगाउँदै स्थानीय युवा र राजनीतिक कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका थिए। जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर प्रदर्शनसमेत गरिएको थियो।

यस घटनालाई लिएर राजनीतिक दबाब र जनस्तरबाट निरन्तर विरोध भइरहेपछि अन्ततः प्रशासनले रिहाको बाटो खोल्नुपरेको हो। पक्राउ परेका युवाहरूलाई प्रारम्भिक अनुसन्धानपछि कानुनी प्रावधानअनुसार जरिवाना असुल गरेर रिहा गरिएको जनाइएको छ।

हेटौँडा अस्पताल अघिल्लो संरचना अनुसार जिल्ला अस्पतालका रूपमा सञ्चालनमा थियो। संघीयता कार्यान्वयनपछि प्रदेश सरकारको निर्णयअनुसार यसलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत राख्ने निर्णय भएको थियो। प्रतिष्ठान मातहत राख्ने निर्णयसँगै अस्पताललाई भविष्यमा शिक्षण अस्पतालको रूपमा विकास गर्ने योजना घोषणा गरिएको थियो।

तर अस्पतालको नाम, पहिचान र सेवा संरचना परिवर्तनप्रति केही राजनीतिक दल, भातृ संगठन र नागरिक समूहहरू निरन्तर विरोध जनाउँदै आएका छन्।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img