समाजछुट्टाछुट्टै घटनामा एकैदिन चार जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा एकैदिन चार जनाको मृत्यु

हेटौँडा | बागमती प्रदेशका चार जिल्लामा छुट्टाछुट्टै घटनामा एकैदिन चार जनाको ज्यान गएको छ। शुक्रबार चितवन, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा घटेका घटनाबारे प्रदेश प्रहरी कार्यालय हेटौँडाले पुष्टि गरेको हो।

चितवनको खैरहनी नगरपालिका–११ सिद्धार्थचोकमा ३७ वर्षीय आइतराम तामाङ कुलोको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो करिब ३ बजेतिर घर नजिकैको कुलोमा डुबेको अवस्थामा तामाङ फेला परेका थिए।

त्यस्तै, काभ्रेको नमोबुद्ध नगरपालिका–६ भडार गाउँमा ६४ वर्षीय कामी सिंह तामाङको शव रोशी खोलाबाट भेटिएको छ। मंगलबार बिहान माछा मार्न गएका उनी घर फर्केका थिएनन्। परिवारले खोजी गर्ने क्रममा शुक्रबार बिहान ८ बजे खोलाको बीच भागमा तामाङको शव भेटिएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकमा भने उपचारका क्रममा एक जनाको ज्यान गएको छ। दोलखाको जिरी नगरपालिका–६ का ५२ वर्षीय लिला बहादुर जिरेल निमोनियाका बिरामी थिए। दोलखास्थित च्छोरोल्पा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटैमा स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सिन्धु सदाबहार अस्पताल, खाँडीचौर लगिएको थियो। त्यहाँ उपचारका क्रममा शुक्रबार बिहान ११ बजेर ३० मिनेटमा उनको मृत्यु भएको हो।

दोलखाकै भिमेश्वर नगरपालिका–३ तार्थलीमा पनि एक जनाको मृत्यु भएको छ। ५९ वर्षीय नरबहादुर कठायत घरको छतमा लडेका थिए। शुक्रबार बिहान करिब ११ बजे बेहोस अवस्थामा भेटिएका उनलाई पशुपति चौलागाई स्मृति अस्पताल, चरिकोट पुर्‍याइए पनि चिकित्सकले दिउँसो ३ बजे मृत घोषणा गरेका थिए।

एकैदिन प्रदेशका फरक–फरक जिल्लामा घटेका यस्ता दुःखद घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ। प्रहरीले सबै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img