Monday, May 19, 2025
विचार/ब्लगजिन्दगी पोस्ट हुँदै गइरहेछ...
spot_img

जिन्दगी पोस्ट हुँदै गइरहेछ…

रियल हुनु अब ‘कन्टेन्ट’ बन्न थालेको छ।

spot_img

हेटौँडा | रातको १२ बजेको छ। कोठाभित्र शून्यता छ, बाहिर सहर निदाएको छ। मोबाइल र ल्यापटपको स्क्रिनमा टिमटिमाउँदो उज्यालो छ — र त्यस उज्यालोभित्र लुकेको छ, एकान्त, मौनता, अनि अलमलिएको मन। यहींबाट सुरु हुन्छ हाम्रो डिजिटल युगको सबैभन्दा मौन कथा…

हामीले खिचेका फोटोहरूमा हाँसो देखिन्छ — तर त्यो हाँसोभित्र कताकता मौनताको गहिरो सागर लुकेको हुन्छ।
दिनभरि इन्टरनेटमा स्क्रोल गर्दै बिताउँछौं, सायद केहि खोज्दै… के पत्ता लाग्छ भन्ने थाहा छैन। अनि रातपर्ने बेला स्क्रिन अँध्यारो हुँदा एक किसिमको शून्यता टाउकोमाथि ओर्लिन्छ — जुन कहिले पनि नोटिफिकेसनको रूपमा आउँदैन।

यो हाम्रो कथा हो — जहाँ हामी संसारसँग जोडिन खोजिरहेका छौं, तर आफैंसँगै टाढा हुँदै गएका छौं। हामी ‘अनलाइन’ छौं, तर ‘कनेक्टेड’ छैनौं।

आज सम्बन्धहरू सुरु हुन्छन् ‘भाइबरको टिक टिक’ बाट, अनि टुङ्गिन्छन् ‘सिन’ र ‘मनपऱ्यो’ मा। के ती सम्बन्धहरू साँच्चिकै गहिरा छन्? कहिले काहीँ लाग्छ — हामी हजारौं साथीहरूका माझमा रमाइरहेका जस्ता देखिन्छौं, तर त्यो भिडभाडकै बीचमा एक्लोपनको चिसोले छाती गिजोलिरहेको हुन्छ।

इन्टरनेटले सम्पर्क त दिएको छ, तर संवेदना भने हराउँदै गएको छ।
प्रेम अब ‘टेक्स्ट’ हो, ‘रिल’ हो, ‘स्न्याप’ हो।
तर ति कथा पनि हामीले सुनेका हौ  जहाँ प्रेम आँखा आँखा हेरेर थालिन्थ्यो, चुपचाप थामिएका हातहरूबीच मनको संवाद हुन्थ्यो रे भन्ने समय आउँदै छ ।

आज हामी भिडियो कलमा “तिमी राम्रो देखिन्छौ” त भन्छौं, तर त्यो नजरमा पहिलाको न्यानोपन हराइसकेको हुन्छ। रियल जीवनभन्दा ‘रिल’ लाई प्राथमिकता दिने हाम्रो युगमा, सत्यभन्दा पनि सजावटको मूल्य बढिसकेको छ।

अहिले सबै कुरा ‘पोस्टेबल’ हुनुपर्छ।
कोही गहिरो पीडामा होलान्, तर बाहिरबाट हेर्दा ‘ठिकै छ’ देखिन्छ, किनभने उसले “Life is Beautiful” लेखेर पोस्ट गरेको छ।
ट्विटरमा रोएको मान्छे इन्स्टाग्राममा हाँसेको देखिन्छ — यो हाम्रो युगको ट्र्याजेडी हो।

हामी ‘रिएक्ट’ गर्न त सिक्यौं — इमोजी, लाइक र स्टोरीमार्फत — तर ‘फिल’ गर्न भने बिर्स्यौं।
सुसाइड नोट पनि अब स्टाटसमा आउँछ, तर हामी त्यसलाई जोक ठान्छौं।

मानवता भन्दा पनि अल्गोरिदम प्रभावशाली भइसकेको छ।
कुन पोस्ट भाइरल हुन्छ भन्ने त तय हुन्छ, तर कुन पोस्टले कसैको मन भाँचिएको छ भन्ने चासो कसैले राख्दैन।

आज हामीलाई ‘टच’ गर्न फोन चाहिन्छ,
‘फील’ गर्न डिभाइस चाहिन्छ,
‘सम्झन’ पनि फेसबुक मेमोरीले गराइदिन्छ।

आफ्नै घरभित्र, एउटै कोठाभित्र, आमा भान्सामा खाना पकाउँदै हुनुहुन्छ — हामी छेउमै बसेर इयरफोनमा हराइरहेका छौं।
एकै घरमा दुई पृथक ब्रह्माण्ड।

यो केवल नेपाल होइन — यो त विश्वव्यापी यथार्थ हो।
जापानको युवापुस्ताले यसलाई ‘हिकिकोमोरी’ भनेका छन् । अमेरिकामा एक सर्वेले अनुसार ७०% जेन जेडले “Deep loneliness” को अनुभव गर्छन, जुन पहिले कहिल्यै थिएन।
हामी सबैजना यो ‘डिजिटल डिप्रेशन’को हिस्सा हौं । जसले न नारा दिन्छ, न देखिन्छ, तर भित्रभित्रै खाइरहेको हुन्छ।

हाम्रो जीवन सजिलो त बनिरहेको छ, तर सरल छैन।
हामीले प्रतिक्रिया दिन चाँडो सिक्यौं, तर आत्ममूल्यांकन गर्न छोड्यौं।
हामीले जवाफ दिन त सक्छौं, तर प्रश्न गर्न डराउन थालेका छौं।

केही दशकअघिसम्म जहाँ ‘सम्बन्ध’ भन्नाले आत्मीयता, सुरक्षा र सहारा जनाइन्थ्यो, अहिले त्यो शब्द फेसबुक रिलेसनसिप स्टाटसमा सीमित भएको छ।
अब आत्मबल र आत्मीयता ‘#SelfLove’ र ‘#SupportSystem’ मा सीमित छन्।

हामीले आत्मा बेचेर इन्फ्लुएन्सर बन्ने होडमा लाग्यौं,
तर के हामी आफैलाई इन्फ्लुएन्स गर्न सकेका छौं?

मायाको अर्थ फेरिएको छ, चिनजानको तरिका बद्लिएको छ, र दुख लुकाउने शैली त अत्यन्त परिष्कृत भइसकेको छ।
अब हामी दु:खी हुँदा पनि हाँस्न सक्छौं — किनभने ‘क्यामेरा फेस’ गर्न आउँछ।
तर त्यो हाँसोभित्रका आँशुहरू? त्यो कहिल्यै पोस्ट हुँदैन।

तैपनि, केही कुरा बाँकी छन् — जुन डिजिटल हुन सक्दैनन्:
आमाको न्यानो स्पर्श,
साथीको मौन साथ,
प्रेमिका/प्रेमीको आँखाभित्रको चिन्ता,
वा “तिमी ठीक छौ?” भनेर कसैले सोधिदिने चासो।

यी कुरा डिजिटल संसारमा हराउँदै छन्,
तर हाम्रो आत्मा त यिनैको खोजी गरिरहेको हुन्छ।

आज फेरि हामी आफैँसँग साक्षात्कार गर्नुपर्ने बेला आएको छ।
के म यो जीवन जिउँदैछु? कि केवल देखाइरहेको छु?
के म साँच्चै रमाएको छु? कि केवल रमाएको अभिनय गर्दैछु?

हाम्रो भविष्य प्रविधिमा निर्भर हुन सक्छ,
तर मानवता भने भावना, समझदारी र सहानुभूतिमा निर्भर हुन्छ।

यदि हामीले आजको जीवनशैली फेरि सोचेनौं भने —
भोलिको पुस्ताले ‘माया के हो?’ भनेर गुगलमा सर्च गर्नुपर्ने दिन टाढा छैन।

त्यसैले…
आजै — एकपल्ट गहिरो सास फेरेर, मोबाइल साइडमा राखौं।
आफैसँग कुरा गरौं — सायद सबैभन्दा गाह्रो तर सबैभन्दा जरुरी काम यही हो।

 

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img