काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संसदको अन्त्य गनुपर्ने भन्दै संवैधानिक तरिकाले संसद् भंग गर्न प्रस्स्ताव गरेका छन् ।
स्थानीय तहको निर्वाचनको मिति तय गर्न बसेको सत्तागठबन्धनको बैठकमा प्रचण्डले संसदीय निर्वाचन अगाडि गर्नुपर्ने भन्दै संसद् भंगको प्रस्ताव गरेका हुन् ।
प्रचण्डले वैशाखमै संसदीय निर्वाचन गर्नुपर्ने प्रस्ताव सत्तागठबन्धनका अन्य दललाई राखेको थियो । स्थानीय निर्वाचनभन्दा अगाडि नै संसदीय निर्वाचनको आवश्यकता परेको भन्दै प्रचण्डले सो प्रस्ताव गर्दा सत्तागठबन्धनभित्रै हल्लाखल्ला शुरु भएको छ ।राष्ट्रिय सहमतिका लागि संसद भंग गर्दै प्रतिनिधिसभाको बहुमतबाट संसदीय निर्वाचनमा जाने निर्णय गर्नु उचित हुने भन्दै प्रचण्डले प्रस्ताव गरेपछि स्थानीय तहको निर्वाचनको मिति तय गर्न बसेको गठबन्धनको बैठक भाँडिएको छ ।
नेकपा एमालेले आफ्नो माग राखेर संसद्मा अवरोध सिर्जना गरिरहेको अवस्थामा यसको समाधानका लागि पनि संसदीय निर्वाचनमा जानुपर्ने प्रचण्डको भनाइ छ । ‘यसरी संसद् चल्न सक्दैन । संसद नै नचलाउने हो र समस्या मात्रै थपिरहने हो भने एमालेलाई पनि साथमा लिएर संसदको वैधानिक तरिकाले अन्त्य गरी वैशाखमा संसदीय निर्वाचन गर्नु उत्तम हुनेछ, प्रचण्डले भनेका छन् ।
उनले कातिकमा स्थानीय तहको निर्वाचन गर्न पनि मिति प्रस्ताव गरेका छन् । उनको सो प्रस्तावपछि सत्तागठबन्धन दलले आफ्नै पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित गरेको छ ।



