काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार अनुसार आफ्नो बोली फेर्ने गरेका छन् । तत्कालिन नेकपा एमाले नेतृत्वको सरकार हुँदा थापाले एमसीसीको विरोध गरेका थिए ।
तर उनी अहिले त्यहि एमसीसी यथास्थितिमा पास गनुपर्ने भन्दै जोड दिइरहेका छन् । सत्तामा एमाले हुँदा एमसीसीको विषयहरु राष्ट्रियता विपरित रहेको भन्दै उनले विरोध गरेका थिए । उनले त्यतिबेला बोलेको भिडियो सामाजिक सञ्जालमा छरपस्त छ । पछिल्लो समय कांग्रेसको सरकार बनेपछि उनी एमसीसी जस्ताको तस्तै पास हुनुपर्ने भन्दै त्यसको सकरात्मक सन्देश फैलाउन लागिपरेका छन् ।
राष्ट्रवादको पक्षपोषण गर्दै उनले एमसीसी देशको हित विपरित भएको बताएका थिए । तर देउवा नेतृत्वको सरकार बनेपछि एकाएक फेरिएको बोलीले उनको राजनीतिक स्वार्थ प्रस्तुत गरेको छ । एमसीसी संसदबाट पास हुन एमसीसीको स्वरुप र कतिपय प्रवन्धहरु बदलिनु पर्ने प्रतिक्रिया दिएका थापाले अहिले जस्ताको तस्तै पास गर्नुपर्ने जोड दिनुमा कांग्रेस बैठकको निर्णय मात्र नभई भारतीय दुतावासको सहकार्य रहेको समेत खबर बाहिरिएको छ ।
नेता थापाले भारतीय दुतावासको निर्देशनमा एमसीसी बारे सकरात्मक सन्देश फैलाउन लागि परेको स्रोतको दावी छ । उनी त प्रतिनिधि पात्र मात्र हुन् । कांग्रेसका धेरै नेताको बोली फेरिएको छ, सा्रेतले भन्यो । हुनत आफू प्रतिपक्षमा बस्दामात्र सरकारले गरेका निर्णय गलत भएको भन्दै विरोध गर्ने प्रवृति नेपाली राजनीतिक पार्टीका नेताहरुमा हाबी छ नै ।
जनतामा लोकप्रियता कायम राखेको नेताहरुले नै राजनीतिक स्वार्थमा राष्ट्रियताको विषयमा बोली फेरिरहदाँ नेताहरुप्रतिको जनविश्वास नै गुमेको छ । त्यसमा अहिले अगाडी देखिएको पात्र हुन् नेता थापा ।