हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा मंगलबार बिहान नियुक्त तीन मन्त्रीलाई तत्काल शपथ नखुवाउन सत्ता साझेदार नेकपा एमालेले आग्रह गरेको छ।
शपथ ग्रहणको तयारी भइरहेका बेला एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरी शपथ रोक्न भनेका हुन्।
कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाइएका लामाले आजै बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए।
तर एमालेले अहिले शपथ नगराउन आग्रह गरेपछि मुख्यमन्त्री लामा अलमलमा परेका छन्। प्रदेशको राजनीति जटिल मोडमा रहेका बेला नयाँ मन्त्रीलाई शपथ खुवाउँदा गलत सन्देश जाने भन्दै तत्काल शपथ रोक्न आग्रह गरिएको नेता थपलियाले बताएका छन्।



