काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को आगामी उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाएको छ। आइतबार पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकले ९ जना आकांक्षीमध्ये उनलाई टुङ्गो लगाएको हो। उपनिर्वाचन कात्तिक १७ गते हुँदैछ।
पार्टीले उम्मेदवारीका लागि ७ साउन २१ गतेसम्म आवेदन मागेको थियो र उक्त अवधिभित्र ९ जनाले आवेदन दिएका थिए। सचिवालय बैठकअघि आकांक्षीहरूले नख्खु कारागारमा सभापति रवि लामिछानेलाई भेटेर आपसी समझदारी कायम गरेका थिए। सबैले जसलाई टिकट दिने निर्णय भए पनि असन्तुष्ट नहुने लिखित वाचा दिएका थिए।
डा. लेखजंग थापा न्यूरोलोजिस्ट डाक्टर हुन्। उनी थापा परिवारका आठौं सन्तान हुन् र उनका बुवा न्यायाधीश थिए। राजनीतिमा प्रवेश गरेको तीन वर्ष भएको उनी रुपन्देहीको अञ्चलापुरमा जन्मिएका हुन्।
उम्मेदवारीका लागि अन्य आवेदन दिएका आकांक्षीहरूमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्याल रहेका छन्। रास्वपा उम्मेदवार चयनका लागि २५ हजार आवेदन शुल्क निर्धारण गरिएको थियो।



