सुनसरी / धरान बस्दै आएका जुम्ल्याहा दाजुभाइले जुम्ल्याहा दिदीबहिनीसँग वैवाहिक बन्धनमा बाँधिएका छन् ।
केही महिनाअघि देखि धरानमा इन्गेजमेण्ट गरेका उनीहरुले गत माघ १३ गते बिहीबार उनीहरुले लगनगाँठो कसेका थिए। मोरङको सुन्दरहरैंचाको नेताचोक घर भएका उनीहरुले भोजपुर जिल्लाको च्याङ्ग्रेका दुई जुम्ल्याहा दिदीबहिनीसँग विवाह बन्धनमा बाँधिएका छन् ।
राम–लक्ष्मण कार्की दाजुभाइले गंगा–जमुना कोइरालासँग विवाह गरेका हुन् । उनीहरुको विवाहमा चारजना सँगै देख्दा मान्छेहरूले अचम्म मानेका थिए । ‘हामी त झुक्किएनौं तर पनि तपाईको श्रीमती कुन हो भनेर सोध्ने समेत गरेका छन्’, लक्ष्मणले भने । `जुम्ल्याहा विवाह त धेरै सुनिए तर एकैघरमा दिदीबहिनीसित विवाह गरेको कमै सुनिन्छ’, लक्ष्मी सिजापतिले भनिन्, ‘यो एउटा संयोग हो ।’
रामले भने, ‘एकजना आफन्तले भोजपुरमा जुम्ल्याहा दिदीबहिनी छन् भनेपछि आफूहरुले सामाजिक सञ्जालमार्फत् चिनजान बढाएर नजिकिएको हौं, त्यसपछि यो कुरा आफन्तमार्फत् विवाहमा परिणत गर्ने निधोमा पुग्यौं ।
जे होस् सपना पूरा भयो ।’ यस्तै, तीन दाजुभाइको एकैलग्नमा विवाह समेत भएको छ । जर्मन कार्की राम–लक्ष्मणका ठूलो बुबाका छोरा हुन् । जर्मनले गीता खड्कासँग विवाह गरेका हुन् । जर्मन सशस्त्र प्रहरीमा कार्यरत् छन् भने गीता सेनामा कार्यरत् छिन् ।



