राष्ट्रपति रामचन्द्र पौडेलले ३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको ब्रेकथ्रु गरेका हुन्। सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै द्रुतमार्ग निर्माणले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
नेपाली सेनाका अनुसार आयोजनाअन्तर्गत सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो। आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको छ भने उच्च प्रविधियुक्त पुल तथा अन्य पूर्वाधार निर्माणको काम जारी छ।
महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। करिब ७३ किलोमिटर लामो द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको यात्रा दूरी र समय घट्नुका साथै इन्धन खपत तथा सवारीसाधन सञ्चालन र मर्मतसम्भार खर्चमा कमी आउने उनले बताए।
राष्ट्रपति पौडेलले द्रुतमार्गले यातायात सुविधामा मात्र नभई व्यापार, पर्यटन, पारवहन र समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे। यसले राजधानी र तराई/मधेशबीचको भौगोलिक दूरी कम गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनको भनाइ थियो।
विकट भौगोलिक अवस्था र जटिल भू–बनावटका बाबजुद नेपाली सेनाले निर्माणमा हासिल गरेको प्रगतिप्रति राष्ट्रपति पौडेलले सन्तुष्टि व्यक्त गरे। उनले आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना, निर्माण व्यवसायी र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
यद्यपि, द्रुतमार्ग निर्माणमा जग्गा अधिग्रहणसम्बन्धी विवाद अझै प्रमुख चुनौती बनेको छ। ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको जग्गासम्बन्धी विवाद समाधान हुन बाँकी छ। नेपाली सेनाले विवाद समाधान भएपछि उक्त खण्डको ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने जनाएको छ।
द्रुतमार्गको समग्र भौतिक प्रगति ५१ प्रतिशत पुगे पनि बाँकी निर्माण कार्यसँगै जग्गा विवाद समाधान गर्नु आयोजना समयमै सम्पन्न गर्ने दिशामा महत्वपूर्ण चुनौतीका रूपमा देखिएको छ।


