मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहमति जुट्न नसक्दा निर्वाचन प्रक्रिया नै अघि बढ्न सकेको छैन।
प्रदेश सरकार र प्रदेशसभाको नेतृत्वलाई एउटै राजनीतिक भागबण्डाको विषय बनाइएका कारण सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ। विशेषगरी नेकपा र नेकपा एमालेबीच सभामुख पद कसले लिने भन्ने विषयमा समझदारी बन्न सकेको छैन। त्यस्तै, नेकपाभित्र पनि सांसदहरू कृष्णप्रसाद खनाल र रत्न ढकालबीच सभामुख बन्ने आन्तरिक होड चलिरहेको छ। दलको संसदीय दलभित्र कसलाई अघि सार्ने भन्ने विषय स्पष्ट हुन नसक्दा प्रदेशसभा सचिवालयले बैठकसमेत आह्वान गर्न सकेको छैन।
यसअघि भदौ २३ र २४ को जेनजी आन्दोलनपछि तत्कालीन सभामुख भुवन कुमार पाठकले असोज १ गते राजीनामा दिएपछि बागमती प्रदेशसभाको सभामुख पद रिक्त हुँदै आएको छ।
सभामुख चयनको विषय टुङ्गो नलाग्दा प्रदेशसभाको बैठक बस्न सकिरहेको छैन, जसले गर्दा नियमित कामकारबाही, विधेयक निर्माणलगायतका संसदीय प्रक्रियाहरू प्रभावित भएका छन्। सरकार गठनमा दलहरूले सहजै सहमति जुटाए पनि संसद्को नेतृत्व चयनमा देखिएको यो अन्योलले प्रदेशको राजनीतिक समीकरणमा असहजता रहेको देखाएको छ। दलहरूबीच ठोस सहमति नभएसम्म प्रदेशसभाको बैठक सञ्चालन र संसदीय गतिविधिले गति लिने अवस्था देखिँदैन।


