मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गर्न लागेका हुन्।
पारिवारिक स्रोतका अनुसार विवाह समारोह झापाको मंगलबारेस्थित डाँगीका आफन्तको घरबाट सम्पन्न हुनेछ। विवाहका लागि मोरङको विराटनगर–३, दूधफारमस्थित ढकालको घरमा आवश्यक तयारी सुरु भइसकेको छ।
रास्वपाका संस्थापक महामन्त्री समेत रहेका ढकाल र सहमहामन्त्री डाँगीबीचको सम्बन्धबारे यसअघि पनि राजनीतिक वृत्तमा चर्चा हुँदै आएको थियो।
विवाह बन्धनमा बाँधिन लागेकी डाँगी रास्वपाको केन्द्रीय नेतृत्वमा सक्रिय छिन्। उनी २०७९ सालको आम निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन्। यस्तै, २०८२ सालको निर्वाचनमा भने उनी झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्।


