देशबागमती प्रदेशहेटौंडा मेयर कप बुद्धिचालमा क्षितिज र प्रकाशको अग्रता

हेटौंडा मेयर कप बुद्धिचालमा क्षितिज र प्रकाशको अग्रता

चैत्र ११, हेटौंडा | नेपाल खेलकुद महासंघ (नेकोस) र बागमती प्रदेश बुद्धिचाल संघको संयुक्त आयोजनामा मकवानपुरमा हेटौंडा मेयर कप रेपिड चेस प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार चार चरणका खेल सम्पन्न भए । चार चरणको समाप्तिमा फिडेमास्टर क्षितिज भण्डारी र प्रकाश नेपाल शतप्रतिशत नतिजा निकाल्दै संयुक्त अग्रता बनाउन सफल भएका छन् । उनीहरूको समान चारचार अंक भएको छ ।

चार खेलमा तीनमा जीत र एकमा बराबरीमा गरेका फिडेमास्टर रुपेश जयसवाल ३ दशमलव ५ अंक बनाउँदै अंकतालिकाको दोस्रो स्थानमा रहेका छन् । त्यस्तै वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौंलागाई, पूर्व राष्ट्रिय च्याम्पियन फिडेमास्टर मनिष हमाल, मकवानपुरका क्यान्डिडेटमास्टर कृष्ण थापा, झापाका राजन सुवेदी तथा सुश्रुत दाहाल, दोलखाका आशिष फुयाँल, धनुषाका सुशील चौधरी, धनकुटाका सुमन श्रेष्ठ, मकवानपुरका नवीनकुमार श्रेष्ठ, चितवनका सन्तोष गौतम र रुपन्देहीका चमन गाहा मगर समान तीन–तीन अंक बनाउन सफल भए ।

पहिलो चरणमा पूर्व राष्ट्रिय महिला च्याम्पियन सिन्दीरा जोशीमाथि जित हात पारेका क्षितिजले दोस्रोमा सर्लाहीका कमल श्रेष्ठ, तेस्रोमा सुशील चौधरी तथा चौथो कृष्ण थापालाई हराए । त्यसैगरी प्रकाशले पहिलो चरणमा सुदेश श्रेष्ठ, दोस्रो चरणमा सर्लाहीका रवीन्द्र बहादुर थापा, तेस्रो चरणमा मनिष हमाल तथा चौथो चरणमा सुश्रुत दाहालमाथि विजय प्राप्त गरे । शनिबार हुने पाँचौं चरणको खेलमा क्षितिज र प्रकाश आमनेसामने हुनेछन् ।

तीन पटकका राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले शुक्रबारका चार खेल मध्ये एकमा हार र एकमा बराबरीमा रोकिएपछि २ दशमलव ५ अंक बनाएका छन् । तेस्रो चरणमा कृष्ण थापा सँग हार व्यहोरेका बद्रीलाल चौथो चरणमा पुरुषोत्तम चौंलागाईंसँग बराबरीमा रोकिएका हुन । बद्रीसँगै काभ्रेका खोमप्रसाद तिमिल्सना, मकवानपुरका बलराम श्रेष्ठ र सुदेश श्रेष्ठ समान २ दशमलव ५ अंक बनाउन सफल भएका छन् ।

हेटौंडा उपमहानगर पालिकाका प्रमुख हरिबहादुर महत तथा नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले चेस गोटी चालेर औपचारिक उद्घाटन गर्नुभएको प्रतियोगितामा ५२ जना खेलाडीको सहभागिता रहेको छ । विभिन्न विधामा गरी नगद २ लाख ५ हजार पुरस्कार रहेको दुई दिने प्रतियोगिता फिडेको स्विस लिग प्रणाली अनुसार ७ चरणसम्म प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img