सुनसरी / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश १ का विभिन्न पालिकाको प्रमुखमा ९ सय ८ जनाले उम्मेदवारी दिएका छन् भने मुलुकभरमा एक लाख ३७ हजार ४३ जनाको उम्मेदवारी परेको छ । वैशाख ३० गते ७७ जिल्लाका सात सय ५३ पालिकामा एकै चरणमा स्थानीय तह निर्वाचन हुँदैछ।
प्रदेश १ का १४ वटा जिल्लाभित्र एक सय ३७ वटा स्थानीय तह छन् । जसमा एक महानगरपालिका, दुई उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका छन् । विराटनगर प्रदेश १ को एउटा मात्रै महानगरपालिका हो भने धरान र इटहरी उपमहानगरपालिका हुन् ।
हालसम्म प्राप्त विवरण अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयर (प्रमुख) पदमा उम्मेदवारी दिनको सङ्ख्या चार सय १९ पुगेको छ । गाउँपालिकाको अध्यक्ष (प्रमुख)मा चार सय ८९ जनाले उम्मेदवारी दिएका छन् ।
उपमेयरमा तीन सय ११ र उपाध्यक्षमा तीन सय ९१ गरेर पालिकाको उपप्रमुखमा सात सय दुई जनाले मनोनयन दर्ता गराएका छन् । प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिनेको सङ्ख्या १ हजार ६ सय १० पुगेको छ । वडाध्यक्षमा पाँच हजार १७, महिला सदस्यमा तीन हजार आठ सय, दलित महिला सदस्यमा तीन हजार चार सय चार र खुला सदस्यमा आठ हजार ४८ जनाले उम्मेदवारी दिएका छन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि प्रदेश १ भरिबाट २१ हजार आठ सय ७९ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए । उनका अनुसार अझै पनि प्राविधिक हिसाबका केही काम बाँकी रहेकाले उम्मेदवारी दिनेको सङ्ख्या बढ्न सक्छ । प्राविधिक रूपमा तथ्याङ्क ‘अपडेट’को काम भइरहेकाले अहिलेसम्म प्राप्त विवरणलाई मात्रै अन्तिम मान्न नसकिने अधिकारीको भनाइ छ ।
तेह्रथुममा दुई नगरपालिका र चार गाउँपालिका, सङ्खुवासभामा पाँच नगर र पाँच गाउँपालिका, भोजपुरमा दुई नगर र सात गाउँपालिका, सोलुखुम्बुमा एक नगरपालिका र सात गाउँपालिका, ओखलढुङ्गामा एक नगरपालिका र सात गाउँपालिका, खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका तथा उदयपुरमा चार नगरपालिका र चारवटा गाउँपालिका रहेका छन् ।
ताप्लेजुङमा एक नगरपालिका र आठ गाउँपालिका, पाँचथरमा एक नगरपालिका र सात गाउँपालिका, इलाममा चार नगरपालिका र छ गाउँपालिका, झापामा आठ नगरपालिका र सात गाउँपालिका, मोरङमा एक महानगर, आठ नगर र आठ वटा गाउँपालिका, सुनसरीमा दुई उपमहानगर, चार नगर र छ गाउँपालिका, धनकुटामा तीन नगरपालिका र चार गाउँपालिका छन् ।



