काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र स्थानीयबीच सहमति भएको छ ।
शुक्रबार राती भएको वार्ता काठमाडौं महानगर र सिसडोल- बन्चरेडाँडा बीच फोहोर उठाउन १८ बुँदे सहमति भएको हाे। राति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीय देखि वडाअध्यक्षहरूको उपस्थितिमा सहमति भएको हो ।
अबदेखि दुई पक्षबीच फोहोर ढुवानी रातिको समयमा गर्ने । रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने । सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने । फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने र दुई महिनाभित्रमा वैज्ञानिक व्यवस्थापन गर्ने । फोहोरबाट निस्कने लिच्चड बाटोमा ननिस्कने व्यवस्था गर्ने ।
सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, ककनी गाउँपालिका – १ का अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामी, ककनी गाउँपालिका – २ का अध्यक्ष तिलक बहादुर लामा, धुनीबेंसी नगरपालिका – १ अध्यक्ष बहादुर तामाङ र धुनीबेंसी नगरपालिका – ३ का अध्यक्ष प्रकाश हमालले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।



