फिचरकाठमाडौंदेखि बाजुरासम्म चिसो मान्छे संगको यात्रा

काठमाडौंदेखि बाजुरासम्म चिसो मान्छे संगको यात्रा

फिल्म समीक्षा

  • बसन्त भण्डारी 

यात्रा सधै रोमाञ्चक काहा हुन्छ र, पिडा र संघर्षको पनि त हुन्छ । दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्म ‘चिसो मान्छे’ को यात्रा पनि रोमाञ्चक छैन, संघर्ष र पिडादायी छ।

एक महिलाले आफ्नो श्रीमानको र एक बुबाले आफ्नो छोरा गुमाएको कथा हो “चिसो मान्छे” । आफ्नो श्रीमानको र आफ्नो छोराको शव गाडीमा राखेर काठमाडौंदेखि बाजुरासम्म पुर्‍याउँदाको पृथक यात्रा हो। यो चिसो मान्छे सँगको चिसो यात्रा हो। वास्तविक समाजको चित्रण गर्ने संवेदनशील फिल्म हो “चिसो मान्छे”।

यो फिल्ममा चिसो मान्छेले शव मात्र बुझाउँदैन। फिल्मका पात्रहरू पनि चिसा छन्। उनीहरू दुःख र कष्ट बोकेर हिँडेका छन्। कोरोना महामारीको परिवेशलाई समावेश गरिएको फिल्ममा समाज पनि चिसिएका छन्। कोरोनाबाट बाँच्न एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने भुलिसकेका छन्।

हृदयाघात भएर मृत्य भएको व्यक्तिको शव कतारबाट त्रिभुवन विमानस्थल, काठमाडौं आइपुग्छ। त्यो शव लिन मृतकका बुबा (देशभक्त खनाल) र श्रीमती पुष्पा (स्वस्तिमा खड्का) जान्छन्। त्यही यात्रामा चालक भै जोडिन्छन् अशोक थापा (अर्पण थापा)।

अशोकले मृतक र मृतकका परिवारलाई बाजुरासम्म पुर्‍याउने जिम्मेवारी पाएका छन्। उनी पेसाले गाडी चालक होइनन्, परिस्थितिले बनाएको हो।

कोरोना महामारीमा कुखुरा व्यवसाय बन्द भएपछि अशोकलाई आर्थिक समस्याले च्याप्दै गयो, कोरोनाले श्रीमतीको मृत्यु भयो, ६ महिनाकी छोरी पाल्न हम्मे परे, त्यसैले उनी बहिनीको घरमा बस्दै आएका छन्। बहिनीको घरमा बस्दा ज्वाइँ रिसाउँछन्। त्यसपछि उनी पैसा कमाउन गाडी चालक बनेका हुन्।

अशोक निरीह पात्र देखिन्छन् भने कलिलो उमेरमै श्रीमान गमाएकी पुष्पा विद्रोही पात्रका रूपमा प्रस्तुत छिन्। उनलाई गायिका बन्ने रहर छ। आफ्नो रहर पूरा गर्न सकेकी छैनन्। रहर पूरा गर्न छट्पटाइरहेकी हुन्छिन्।यही सपना पछ्याउन भाग्ने प्रयास पनि गर्छिन्। ससुरासँग विद्रोह पनि गरिरहन्छिन्। तर असफल छिन्। फिल्ममा देशभक्त खनाल उनका ससुरा हुन्।

फिल्म ‘चिसो मान्छे’ को कथा यिनै तीन पात्रको वरिपरि घुमेको छ। कोरोना महामारीमा बाकसमा आएको चिसो मान्छेलाई बाजुरासम्म पुर्‍याउँदाको बाधा र अवरोध फिल्ममा प्रस्तुत गरिएको छ। शवमाथि भएको सामाजिक र राजनीतिक किचलो पनि फिल्ममा स्पष्ट देखाइएको छ।

अभिनेत्री स्वस्तिमा खड्काले आफूलाई बाजुराकै महिलाका रूपमा ढालेकी छन्। उनको हुलिया र बोलीचालीमा प्रशस्त मेहनत देखिन्छ। फिल्ममा उनको भूमिका कहिले कठोर, कहिले मार्मिक छ । अर्पण थापा र देशभक्त खनालले पनि आफ्नो पात्रलाई न्याय गरेका छन्।

फिल्म हेरिरहँदा यी तीन कलाकारले अभिनय गरिरहेका छन् भन्ने आभाष हुँदैन। उनीहरूले त्यो जीवन भोगिरहेका छन् भन्ने लाग्छ। पात्रको प्रवृत्ति, हुलिया, बोलीचाली, हाउभाउ सबै स्वाभाविक लाग्छ। उनीहरू कलाकार नभएर वास्तविक पात्र नै लाग्छन्।

यो फिल्ममा धेरै संवाद छैन। हरेक दृश्यले नै फिल्मको भाव बुझाउँछ। फिल्ममा सुदूरपश्चिमको लवज प्रयोग गरिएको छ। उमेरअनुसार देशभक्त खनालले सुदूरपश्चिमको पुर्ख्यौली भाषा प्रयोग गरेका छन्। स्वस्तिमाले अहिलेका पुस्ताले बोल्ने सुदूरपश्चिमको भाषा बोलेकी छन् भने अर्पण थापाले नेपाली।

चिसो मान्छे हेरिरहँदा भाषाका कारण केही असहज लागे पनि नबुझिने छैन। फिल्मको बलियो पक्ष भनेकै यो दृश्य-भाषी छ। फिल्मको प्रस्तुति एकदमै राम्रो छ। कथा सरसर्ती बगेको छ। निर्देशक खनालको छायांकन पनि उत्कृष्ट छ।

यति हुँदाहुँदै फिल्ममा कुनै कमजोरी छैन भन्ने होइन। चिसो मान्छेको क्लाइमेक्स कमजोर देखिन्छ। कथा अधुरो-अपुरोमै टुंग्याइएको छ। त्यस आधारमा चिसो मान्छेको सिक्वेल बन्छ कि भन्ने लाग्छ।

कमेडी, रोमान्स, एक्सन हेर्न खोज्नेहरूले चिसो मान्छे नरूचाउन सक्छन् । यो फिल्म हेर्दा केही दर्शकलाई ‘स्लो’ पनि लाग्न सक्छ। मलाई पनि त्यस्तै लाग्यो !

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img