सुनसरी / उदयपुरको बेलका नगरपालिका- ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोशीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा बाढी पसेपछि प्रभावित भएका २ हजार ४०० घर परिवारको उद्धार गरिएको छ ।
बाढीमा फसेका बेलका नगरपालिका- ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ४०० घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयवासीको सहयोगमा ५ वटा बोटबाट उद्धार गरिएको सशस्त्र प्रहरी बल ५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले जानकारी दिए ।
लगातार परिरहेको वारि बर्षाका कारण सप्तकोशीमा आएको बाढीबाट करिब २५ हजार मानिस प्रभावित भएको उनको भनाइ छ ।
मानिस जनजिवन प्रभावित परेको छ । बुधबार बिहानदेखि साँझसम्म उद्धार जारी राखेर उद्धार गरिएकाे छ । कोशी बुधबार बिहान फुटेकाले गर्दा उद्धार गर्न सहज भएकाे र मानवीय क्षति भएको छैन ।
बाढीले सप्तकोशीले कटान गरेपछि सुनसरीको बराहक्षेत्र नगरपालिका, उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।
यता,पुर्वी पहाडमा अविरल परेको बर्षाका कारण उदयपुर, सप्तरी, सुनसरीलगायतका तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भए पछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन । सप्तकोशी ब्यारेज हुदैँ २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाबमा नियन्त्रण नआए पछि कोसी ब्यारेजका ५६ मध्ये ४६ वटा ढोका खोलिएको हो ।



