“लेख्छिन् काव्यकला सुरम्य रसिला हुन् नामकी यी सरु
त्यस्तै काेकिल कण्ठमा महकझैँ छन् माधुरीता अरू
मेराे याे कविता विशेष लयमा गाना भरेकी छँदा
याे आनन्द लिँदै समस्त जनमा साझा गरेँ लाै यता
सुनेर र पढेर जस्ताको त्यस्तै प्रतिकृया दिनुहाेला जय साहित्य!!”देवीप्रसाद मिश्र
छन्द = शार्दूलविक्रीडित!!
याेगाभ्यास र ध्यान हुन् मनुजका जीवन्त सत्साधना
पार्ने राेग निराेध शक्ति गतिलो हो ध्यान उत्प्रेरणा
त्यस्तै छन्दकला छ साधन ठुलो जीवन्त सञ्जीवनी
याेगाभ्यास र ध्यानका गुणसबै साकार हुन्छन् यहीँ !!१!!
गर्ने चञ्चलता छ चित्त सँगमा पारेर आफ्ना बस
राख्छिन् स्वच्छ बनाउँदै मति मिठो यी सारदेले सब
पर्ने छन् दिलाका अशान्त भमरा ती शब्दका जालमा
हाम्रो चित्त प्रसन्न हुन्छ यसमा झन् काव्यका सारमा!!२!!
लेखाैँ लेख्न सकाैँ डुबेर लयमा पाना भराैँ छन्दले
फालाैँ क्षुद्रपना विकार भवका चम्कून् सबै शब्दले
पढ्छन् सन्तहरू सुकाव्य रसिला मानेर सञ्जीवनी
थाहै छैन त छन्दका गुणहरू के पढ्दथ्याे त्याे अनि!!३!!
पढ्दैनन् जनले भनेर दिलले साेच्दै नसाेचाैँ तर
राम्रो भाव टिपेर राख्न सकिए याे काव्य हाे सागर
चाेरी गर्छ कुनै सुकाव्य रसिला बन्दै ठुलो पारखी
के भर्ला दिलकाे अदम्य ढुकुटी त्यो हन्तकारी बनी!!४!!
लेख्नेले नत छाड्छ लेख्न कहिल्यै के सुक्दथ्याे त्यो मसी
बग्छन् भाव समुद्रछाल जसरी बन्नेछ राम्रो कसी
पार्टीभक्त बनेर चस्स मुटुमा हान्छन् कसैले छुरा
ठान्दा बेस हुनेछ याे हृदयले ती प्रेरणका कुरा!!५!!
पुग्छन् विश्व समस्तमा नयन ती चन्द्रार्कका याे घरी
त्यो भन्दा पर पुग्दछन् कविहरू साेचेर ज्याेत्स्ना छरी
के झुक्थ्यो कवि त्रासले र डरले त्यो स्वार्थगामी बनी
गोता लाई निकाल्छ सागरमणी हाे काव्य सञ्जीवनी !!६!!
देवीप्रसाद मिश्र



