हेटौँडा | गर्मी याम सुरु भएसँगै मकवानपुरमा किङ कोब्रा सर्प भेटिने क्रम बढ्दै गएको छ। पछिल्लो चार दिनको अवधिमा जिल्लाका विभिन्न स्थानीय तहमा विश्वकै सबैभन्दा लामो तथा विषालु सर्पमध्ये पर्ने किङ कोब्रा देखा परेका हुन्।
वैशाख १ गतेदेखि ४ गतेसम्म हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र बागमती गाउँपालिकाका विभिन्न स्थानबाट किङ कोब्रा फेला परेको जनाइएको छ। शुक्रबार हेटौँडा उपमहानगरपालिका–९ स्थित ओमटोल विकास संस्थाभित्र आशिष खतिवडाको मामाघरमा करिब १२ फिट लामो किङ कोब्रा देखिएपछि सर्प उद्धारकर्ता राजेश थापा गरिबले करिब दुई घण्टाको प्रयासपछि सुरक्षित रूपमा उद्धार गरेका हुन्।
वडा कार्यालयमार्फत जानकारी प्राप्त भएपछि उद्धार गरिएको उक्त सर्पलाई स्थानीय जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा डिभिजन वन कार्यालयको समन्वयमा नजिकैको जङ्गल क्षेत्रमा सुरक्षित रूपमा छाडिएको थियो।
यसअघि वैशाख १ गते बागमती गाउँपालिका–साततल्लेबाट पनि किङ कोब्रा उद्धार गरिएको थियो। उद्धारकर्ता गरिबका अनुसार पछिल्लो डेढ वर्षको अवधिमा मात्र उनले झन्डै नौ वटा किङ कोब्रा उद्धार गरिसकेका छन्।
विशेषज्ञहरूका अनुसार किङ कोब्रा सामान्यतया मानिसमाथि आक्रमण गर्न इच्छुक हुँदैन र सकेसम्म टाढा बस्न खोज्छ। तर असुरक्षित महसुस गरेमा आक्रमण गर्न सक्छ। यो सर्प अत्यन्त शक्तिशाली विष बोकेको प्रजाति हो, जसको टोकाइले गम्भीर परिणाम निम्त्याउन सक्छ।
किङ कोब्रा, जसलाई राजगोमन वा कालीनाग पनि भनिन्छ, सर्प खाने स्वभावका कारण यसको वैज्ञानिक नाम ओफियोफेगस हाना रहेको छ। यसको विष न्युरोटक्सिक प्रकृतिको हुने भएकाले अत्यन्त घातक मानिन्छ।
सर्पहरूले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षण आवश्यक रहेको उद्धारकर्ताहरूले बताएका छन्। मकवानपुर जिल्लामा हालसम्म किङ कोब्रासहित मोनोस्लेड कोब्रा, स्पेक्टेकल कोब्रा, ब्यान्डेड, कोरल स्नेक, ग्रीन पिट भाइपर लगायतका विषालु तथा धामनजस्ता अविषालु सर्पहरूको पनि उद्धार गरिएको जनाइएको छ।



