समाजराति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि गरेको अध्ययनले यस्तो देखाएको हो।

उक्त अध्ययनअनुसार उज्यालो कोठामा सुत्ने व्यक्तिहरूमा मुटुमा समस्या आउने सम्भावना ३० देखि ५० प्रतिशतसम्म बढ्ने पाइएको छ। अमेरिकी वैज्ञानिक पत्रिका Jजेएमए नेटवर्क ओपनमा प्रकाशित प्रतिवेदनले नियमित रूपमा राति कृत्रिम प्रकाशमा सुत्दा हृदयघातको जोखिम ४७ प्रतिशत, कोरोनरी धमनीसम्बन्धी रोगको जोखिम ३२ प्रतिशत र मस्तिष्कघात (स्ट्रोक) को जोखिम २८ प्रतिशतले बढ्ने उल्लेख गरेको छ।

अध्ययनमा रातिको कृत्रिम उज्यालोले मस्तिष्कमा तनाव बढाउने, रक्तनलीमा सुजन ल्याउने तथा शरीरको प्राकृतिक जैविक घडीलाई अव्यवस्थित बनाउने जनाइएको छ। यसले दीर्घकालीन रूपमा मुटुसम्बन्धी रोग निम्त्याउन सक्ने वैज्ञानिकहरूको भनाइ छ।

स्वास्थ्य विज्ञहरूले राम्रो निद्राका लागि पूर्ण अन्धकारमा सुत्न सिफारिस गरेका छन्। सुत्नुभन्दा करिब चार घण्टा अघिदेखि नै उज्यालो कम गर्न र प्रकाश छेक्ने पर्दा प्रयोग गर्न सुझाव दिइएको छ।

अध्ययनले रातिको प्रकाशलाई मुटुरोगको महत्वपूर्ण जोखिम कारकका रूपमा लिनुपर्ने औंल्याएको छ। विशेषगरी शहरी क्षेत्रमा बढ्दो प्रकाश प्रदूषण र विद्युतीय उपकरणहरूको अत्यधिक प्रयोगले समस्या अझ जटिल बन्दै गएको विज्ञहरूको भनाइ छ।

विज्ञहरूका अनुसार यो निष्कर्षले सार्वजनिक स्वास्थ्यसम्बन्धी नीति निर्माणमा समेत महत्वपूर्ण प्रभाव पार्न सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img