काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले अपराधी समाउन गृहमन्त्रीले सूचना जारी गरेर देशलाई बदनाम बनाएको बताएका छन् । उनले सस्तो लोकप्रियताका लागि कुनै पनि काम नगर्न र नलोभिन गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न शुक्रबार विज्ञप्ति जारी गरेकामा आपत्ति जनाउँदै उनले गृह मन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भनी प्रश्न गरे ।
गृहमन्त्रीको केटाकेटीपन देखिएको भन्दै उनले भने, ‘गृहमन्त्रीले केटाकेटी पनको प्रदर्शन त्यहाँ गर्नुभएन’ उनले प्रश्न गरे, ‘गृह मन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो ?’ प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै खतिवडाले गृह मन्त्रीले सुरक्षा निकायलाई दिएको निर्देशन सार्वजनिक गर्न नहुने पनि बताए ।
उनले भने, ‘मान्छे पक्डिन नसक्ने अनि सूचना जारी गर्ने ?’ प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा गृहमन्त्री र अभियुक्त सांसद एउटै लाइनमा रहेको भन्दै सांसद खतिवडाले प्रश्न गरे, ‘के माननीय सदस्यले अपराधीलाई चिनाइदिने हो ? गृह मन्त्रीलाई हत्कडी लिएर आउनुस् भनेको हो ?’ उनले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गर्न माग गरिएकोमा गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गर्नुको सट्टा विज्ञप्तिबाजी गरेको भन्दै त्यो अपराध अनुसन्धानको आचारसंहिता विपरीत हुने उनको भनाइ राखे ।
‘मान्छे पक्रिन नसक्ने, अनि सूचना जारी गर्ने ? यो कस्तो अभ्यास हो ? म प्रधानमन्त्रीलाई विश्वासको दिन जाँदा गृहमन्त्रीजीसँगै गएको हुँ । उहाँले १७० नम्बर हस्ताक्षर गर्नुभएको छ । प्रहरीको फरार सूचीमा रहेका व्यक्तिले १९४ नम्बर हस्ताक्षर गर्नुभएको छ,’ प्रतिनिधिसभाको शनिबारको बैठकमा सांसद् खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘अब हामीले अपराधीलाई चिनाइदिनु पर्ने हो कि गृहमन्त्री र हाम्रो संयन्त्रले चिन्छ ?’
उनले गृहमन्त्री लामिछानेले अपराधीलाई पक्राउ गर्नुको सट्टा सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी गरेको आरोप लगाए । ‘जे काम हो, त्यो गरौँ । सस्तो लोकप्रियताका लागि विज्ञप्तिबाजी र मिडियाबाजीमा नलागौँ, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ खतिवडाले भनेका छन्, ‘जनताको माझमा अर्को नाटक, प्रहसन नगरौँ । जनतालाई मुर्ख बनाउने काम नगरियोस् । गृहमन्त्रीले अपराधीलाई पक्राउ गर्न लगाउने हो, अपराध अनुसन्धान आचारसंहिताको विरुद्व विज्ञप्तिबाजी गर्न मिल्दैन ।’



