दार्चुला: दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
सोमबार साँझ साढे ६ बजेतिर चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् । मीना र मृतक नरेश आमा छोरा हुन् ।
खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो । मीना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र दुवै जनाको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।



