मकवानपुर: धार्मिक पर्यटनका हिसाबले मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर-८ स्थित लटारम्मेश्वर महादेवको मन्दिर पर्यटकीय गन्तव्य बनेको छ । समुद्री सतहबाट एकहजार ८ सय ५६ मिटरको उचाइमा रहेको यो मन्दिरबाट देखिने मनोरम हिम शृङ्खलाले पर्यटकलाई पुलकित बनाउँछ ।
यज्ञकुण्डमा हाम फालेर जलेकी सतीदेवीको मृत शरीर बोकेर महादेव त्रिलोक भ्रमण गर्दा सतीदेवीको लट्टा खसेको स्थानका रुपमा मकवानपुरमा लटारम्मेश्वर महादेवको उत्पत्ती भएको धार्मिक विश्वास छ । हरेक वर्ष माघे सक्रान्ती र बैशाख १ गते यहाँ विशेष मेला लाग्ने गरेको छ ।
भीमफेदी गाउँपालिकाको इपाबाट २ घण्टाको ठाडो उकालो पैदल हिडेपछ पुगिने डब्लु डाँडाको थुम्कोमा महादेबको मन्दिर छ । थुम्कोमा पुगेपछि देखिने प्राकृतिक दृश्यहरुले पर्यटकलाई हिडाईको थकान मेटाउँछ । यो थुम्कोबाट आकर्षक गणेश हिमाल देखिन्छ ।
पर्यटक सरोज नेपालीले हिँडेर थुम्कोमा पुग्न केही कठिन भएपनि डाँडामा पुगेपछि चारैतिर देखिने दृश्यले लोभ्याउने बताए । यस्तै अर्की पर्यटक निर्मला राजथलाले हिमाली दृश्यले रमाइलो अनुभूति गराएको बताइन् ।
डब्लु डाँडालाई छिनमै बादलले ढकमक्क ढाक्छ । छिनमै बादल फाटेर प्राकृतिक सुन्दरता देखिनु यो मन्दिरको अर्को विशेषता हो । सरर चल्ने सिरसिरे हावाकै कारण बोटविरुवाका पातहरु बयेली खेलिरहेका दृश्यले पर्यटकलाई अलौकिक अनुभूती दिलाउँछ ।
प्राकृतिक सुन्दरताले भरिएको यो मन्दिरको विकासका लागि भीमफेदी गाँपालिकाले गुरुयोजना बनाएको छ । संघीय सरकार र बागमती प्रदेश सरकारको सहयोगमा गाउँपलिकाले यो वर्ष २० लाख रुपैयाा लगानी गरी भौतिक पूर्वाधारको काम गरिरहेको छ ।
गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, हामीले यो ठाउँमा गरिरहेको काम भनेको यो वर्ष झण्डै पाँच सय मिटर लिफ्ट गरेर खानेपानी ल्याउँदै छौँ । यहाँ खानेपानी र बिजुलीको मुख्य समस्या छ । बिजुली पनि ल्याउने छौँ ।
कान्तिलोकपथको बाटो हुँदै हेटौँडाबाट एक घण्टा र काठमाडौंबाट २ घण्टाको दुरीमा भीमफेदीको इपा पुग्न सकिन्छ । इपाबाट २ घण्टाको उकालो चढ्दा पैदलयात्राको आनन्द लिँदै महादेवको दर्शन गर्ने अवसर मिल्छ । सहरी भीडभाड र व्यस्त दैनिकीबाट अलग हुन चाहनेहरुले बिदाको छोटो समयमा समेत यो स्थानलाई गन्तव्य बनाउन सक्छन् ।



