सुनसरी / मोरङको रंगेलीमा दुर्घटना हुँदा नाबालकको मृत्यु भएको छ भने नाबालककी आमासहित दुई जना घाइते भएका छन् ।
बिहीबार दिउँसो रंगेली नगरपालिका- २ मंगलबारेमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख २६२६ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको को २४ प ९४६२ नम्बरको मोटरसाइकल एकअपासमा ठोक्किएर दुर्घटना जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
दुर्घटनामा सुनवर्षी नगरपालिका- ४ घर भइ विराटनगर महानगरपालिका- ४ कञ्चनबारीमा डेरा गरी बस्ने बबिता राजवंशीका छोरा ३ वर्षीय दीक्षा राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा नाबालक दीक्षा गम्भीर घाइते भएका थिए ।
विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा बिहीबार राति साढे ८ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा परेर नाबालककी आमा अन्दाजी ३० वर्षीया बबिता गम्भीर घाइते भएकी छन् ।
गोल्डेनबाट बबितालाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल रेफर गरिएको छ । उनको दाहिने खुट्टाको घुँडादेखि तलको भाग कच्याककुचुक भएको अस्पतालले जनाएको छ । आमा–छोरा मोटरसाइकलको पछाडि सवार थिए ।
दुर्घटनामा मोटरसाइकल चालक विराटनगर कञ्चनबारीका अन्दाजी ४६ वर्षीय दिनेश राजवंशी पनि घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सामान्य अवस्थाका उनको गोल्डेनमै उपचार भइरहेको छ ।
दुर्घटनालगत्तै बस र चालक रंगेली- ७ का ३८ वर्षीय गंगाराम श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । सडकको खाल्डाखुल्डीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यकिन भएको छ ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।



