सुनसरी : इटहरीमा दुईवटा मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएका छन् ।
मंगलबार राति करिब साढे ९ बजेतिर इटहरी ३ शान्तिचौक स्थित भित्री पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको को ३१ प ६९४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को २१ प ६४३१ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर भएर दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा को २१ प ६४३१ नम्बरको मोटरसाइकलको पछाडि सवार धनकुटा महालक्ष्मी नगरपालिका ८ बस्ने अन्दाजी २६ वर्षीय दीपक मिरिङचिङ मगरको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार मोटरसाइकल चालक इटहरी ३ बस्ने ३० वर्षीय सागर तामाङ गम्भीर घाइते भएका छन् । उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यस्तै, को ३१ प ६९४८ नम्बरको मोटरसाइकल चालक मोरङको सुन्दरहरैँचा ९ बस्ने १८ वर्षीय साहिम थापा मगर र इटहरी ४ बस्ने २० वर्षीया स्नेहा सुब्बा सामान्य घाइते भएका छन् । उनीहरूको इटहरीमै उपचार भइरहेको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



