काठमाडौं- मनसुन बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ ।
विशेषगरी आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । आज काठमाडौंमा पनि हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।
कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशमा भने आज पानी पर्ने सम्भावना कम छ । यी क्षेत्रमा भोलि भने फाट्टफुट्ट वर्षा हुने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
यसपालि १३ दिन ढिलो गरी नेपालबाट मनसुन बाहिरिएको थियो । मनसुन बाहिरिए लगत्तै पश्चिमी वायु भित्रिएकाले पानी पर्न थालेको मौसमविद्को भनाइ छ ।



