सुनसरी / ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा दर्शनार्थीको घुइँचो लागेको छ । पाथीभरामा दसैँको घटस्थापनादेखि दर्शनार्थीको घुइँचो लाग्न थालेको हो ।
पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्कअनुसार घटस्थापनायता शनिबार बिहानसम्ममा २१ हजार ६३९ जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका छन् । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार घटस्थापनाको पहिलो दिन एक हजार १४८ जना दर्शनार्थी पाथीभरामा पुगेका थिए ।
त्यसपछि हरेक दिन एक हजारभन्दा बढी दर्शनार्थीले पाथीभराको दर्शन गर्दै आएका छन् । सप्तमी अर्थात् दसैँको फूलपातीको दिन शनिबार पाथीभराको दर्शन गर्ने दर्शनार्थीको सङ्ख्या सबैभन्दा बढी देखिएको उनले बताए । उनका अनुसार शनिबार बिहान ८ बजेसम्ममा तीन हजार २२५ जना तीर्थयात्री पाथीभराको दर्शन गर्न पुगेका थिए ।
मन्दिर परिसरमा दर्शनार्थीको अत्यधिक भिड लागेको र दर्शनार्थीले बिहान सबेरैदेखि दिउँसो ३ बजेसम्म लाइन लागेर देवीको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए । दसैँ तिहारको समय पाथीभरा दर्शन गर्ने मुख्य सिजन भएकाले घटस्थापनादेखि दर्शनार्थीको भिड लाग्ने गर्दछ ।
मुख्य सिजनमा मात्र नभई बाह्रै महिना पाथीभरामा तीर्थयात्रीको आगमन हुने गरेको समितिको तथ्याङ्क रहेको छ । अहिलेको मुख्य सिजन भएसँगै ताप्लेजुङसहित पाँचथर, इलाम, तेह्रथुम, झापा, मोरङ, सुनसरीलगायत पूर्वी नेपालका जिल्लाबाट उल्लेख्यरूपमा तीर्थयात्री आएका छन् ।
यस्तै काठमाडौँसहित विभिन्न जिल्लाबाट र नेपालबाहिर भारतको दार्जिलिङ, सिक्किम, आसाम, पश्चिम बङ्गाललगायतबाट तीर्थयात्री आएका पनि पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।



