हेटौँडा | हेटौँडामा आज एक विशेष सांगीतिक कार्यक्रम हुँदैछ। क्युब इभेन्टद्वारा आयोजित “हेटौँडा म्युजिक फेस्टिवल २०८१” ले स्थानीय र राष्ट्रिय स्तरका कलाकारहरूलाई एकै मञ्चमा ल्याउँदैछ।
कुब इभेन्टले आयोजना गरेको यस म्युजिक फेस्टिवलमा नेपाली संगीत क्षेत्रका चर्चित र लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रममा द एलिमेंट, पूर्ण राई एण्ड दाजुभाई, सतिस घलान लगायतका कलाकारहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। यसका साथै अन्य चर्चित र स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन्।
आयोजक परिवारले यस महोत्सवले हेटौँडा र आसपासका क्षेत्रका संगीत प्रेमीहरूलाई एक अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्ने अपेक्षा गरेको छ। कार्यक्रम हेटौँडा-४ स्थित भुटानदेवी स्कुल चौरमा शनिबार दिउँसो ४ बजेदेखि हुने जनाइएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले खल्ती एप मार्फत वा कार्यक्रम स्थलबाटै टिकट खरिद गर्न सक्नेछन्।



