हेटौँडा | हेटौँडा उपमहानगरपालिकाले ‘निकृष्ट बालश्रम मुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका’ घोषणा गर्ने तयारी पूरा गरेको छ।
घोषणाका लागि भोली फागुन १ गते विशेष कार्यक्रम आयोजना हुँदैछ, जसमा नगरपालिकाका सम्पूर्ण कर्मचारी, शिक्षक, अभिभावक, सामाजिक अभियन्ता, जनप्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको अनिवार्य उपस्थिति रहनेछ। जसका लागि उपमहानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरू, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा अन्य सरकारी सेवा एक दिनका लागि बन्द गरिने भएको छ।
हेटौँडा उपमहानगरपालिकाले बालमैत्री स्थानीय शासन लागू गर्नका लागि लामो प्रक्रिया पूरा गरेको छ। नगरपालिकाले बालमैत्री अभियानलाई प्राथमिकता दिँदै विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको थियो। यस अन्तर्गत, विद्यालय जाने उमेर समूहका सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने, बालश्रम उन्मूलन, बालविवाह रोकथाम, निःशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तथा बालअधिकार प्रवर्द्धन गर्ने कामहरू भएका छन्।
नगर प्रमुख मीनाकुमारी लामाले बालबालिकाको समग्र विकासका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताउँदै भनिन्, “हाम्रो लक्ष्य बालश्रम, बालविवाह तथा बालअधिकार हननका घटनाहरूलाई शून्यमा झार्नु हो। यस घोषणासँगै, हेटौंडाका बालबालिकाहरू सुरक्षित वातावरणमा हुर्कन पाउनेछन्।”
नगरपालिकाले बालमैत्री शासनको निरन्तरता सुनिश्चित गर्न प्रभावकारी अनुगमन संयन्त्र गठन गरेको छ। उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेका अनुसार, “बालमैत्री स्थानीय शासन घोषणा केवल एउटा उपलब्धि मात्र होइन, यसलाई दीर्घकालसम्म निरन्तरता दिन ठोस नीति र संरचना आवश्यक छ। त्यसका लागि वडा बालअधिकार समिति तथा नगर बालअधिकार समितिले निरन्तर अनुगमन गर्नेछन्।”
उनका अनुसार, घोषणा पश्चात् हेटौंडाका बालबालिकाहरू प्रत्येक वर्ष नगरका नीति तथा योजनामा सहभागी हुन पाउनेछन्। साथै, वडा स्तरबाटै बालसहभागिता सुनिश्चित गरिनेछ, जसले उनीहरूको समस्या तत्काल सम्बोधन गर्न सहयोग पुर्याउनेछ।
नगरपालिकाले आर्थिक रूपमा कमजोर बालबालिकाका लागि विशेष सहायता कार्यक्रम सञ्चालन गरिरहेको छ। हाल नगरपालिकाले २७ जना आर्थिक रूपमा कमजोर बालबालिकालाई मासिक २ हजार रुपैयाँका दरले सहयोग प्रदान गर्दै आएको छ। नगर प्रमुख लामाका अनुसार, “बालअधिकार प्रवर्द्धनका लागि नगरपालिकाले बालकोषलाई थप विस्तार गर्दै आवश्यकता अनुसार थप बालबालिकालाई सहयोग गर्ने योजना बनाएको छ।”
२०७९ सालमा गरिएको तथ्यांकअनुसार हेटौँडाउपमहानगरपालिकामा १८ वर्ष मुनिका ५० हजार १९५ जना बालबालिका रहेका छन्, जसमा २६ हजार १४५ बालक तथा २४ हजार ५० बालिका छन्।
नगरपालिकाले १९ वटै वडालाई ‘बालमैत्री वडा’ घोषित गरिसकेको छ। अब औपचारिक रूपमा बालमैत्री स्थानीय शासन घोषणा भएपछि हेटौंडाले नेपाल सरकारको बालमैत्री स्थानीय शासन पालिका सूचीमा आफ्नो स्थान सुरक्षित गर्नेछ।
बालमैत्री स्थानीय शासन घोषणा कार्यक्रमलाई महत्व दिँदै हेटौँडाउ पमहानगरपालिकाले फागुन १ गतेका लागि सम्पूर्ण विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था तथा अन्य सरकारी सेवा बन्द गर्ने निर्णय गरेको छ।
नगर प्रवक्ता सबिन न्यौपानेका अनुसार, “बालबालिकाका लागि यो ऐतिहासिक दिन भएकाले सम्पूर्ण नगरवासीको सहभागिता सुनिश्चित गर्न सरकारी सेवा बन्द गर्ने निर्णय गरिएको हो। यसले स्थानीय तहको प्रतिबद्धतालाई थप मजबुत बनाउनेछ।”



