समाजमलामी नपाउँदा दिनभर आमाको शव कुरेर बसे बैतडीका शिक्षक प्रकाश दमाईं

मलामी नपाउँदा दिनभर आमाको शव कुरेर बसे बैतडीका शिक्षक प्रकाश दमाईं

spot_img

सिगास | शिक्षित समाजको नारा दिने हाम्रो समाजमा अझै पनि जातीय भेदभावको जरा कति गहिरो छ भन्ने पुष्टि गर्ने घटनाको शिकार बनेका छन् बैतडी सिगास गाउँपालिका–१, अङडेगाडाका प्रकाश दमाईं। समाजलाई शिक्षाको उज्यालो दिने एक शिक्षकले आफ्नै आमाको शव उठाउन मलामी नपाएर दिनभर कुर्नुपर्ने अवस्था सायदै कल्पना गरिन्छ।

शनिबार बिहान ११ बजे प्रकाशकी आमा ६१ वर्षीया मानाको मृत्यु भयो। खबर गाउँभर फैलियो। तर, गाउँलेहरू शोक व्यक्त गर्न आए पनि मलामी बन्न कोही तयार भएनन्। गैरदलित मात्रै होइन, दलित समुदायकै अरू जातले पनि शव उठाउन अस्वीकार गरे।

शिक्षक भए पनि समाजको सोच बदल्न सकेनन्

प्रकाश दमाईं भूमिराज आधारभूत विद्यालयमा शिक्षकका रूपमा कार्यरत छन्। उनले समाजका सबै जातका बालबालिकालाई शिक्षा दिएका छन्, तर जब उनकी आमाको मृत्यु भयो, समाजले उनलाई परम्परागत सोचको गहिरो खाडलमा धकेल्यो।

सिगासको अङडेगाडामा झन्डै ६५–७० घरधुरी छन्। दमाईं जातिको एउटै मात्र घर प्रकाशको हो। बाँकी दलित समुदायमा लोहार, नेपाली, विश्वकर्मा छन्। जातीय विभेद नहुनुपर्ने भनेर संविधानले स्पष्ट व्यवस्था गरेको भए पनि व्यवहारमा विभेद कायमै छ।

सम्पूर्ण समाज मौन, परिवारको बेबसी

गाउँमा मलामी नपाएपछि प्रकाशले आफन्तलाई खबर गर्न बाध्य भए। कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीबाट आफन्तलाई बोलाइयो। शव दिनभर घरमै रह्यो, न त कसैले छोयो, न कसैले मलामी जाने आँट गर्‍यो।

स्थानीय २१ वर्षीय ज्ञानेन्द्र ऐरी भन्छन्, “यहाँ अझै पनि जातीय विभेद छ। दलित समुदायकै अन्य जातले समेत दमाईंको शव उठाउने मान्छे पाइएन। समाजमा यो कति दुखद अवस्था हो, हामी महसुस गर्न सक्छौँ।”

वडाध्यक्ष रामचन्द्र ऐरी भने “घटनाबारे विस्तृत बुझ्नुपर्ने” भन्दै पन्छिए। तर, टेलर परिवारलाई गाडीको आवश्यकता परेपछि वडाले शववाहन खोज्न अनुरोध गरे।

मलामी नपाएर शव उठाउन गाडीको सहारा

प्रकाशले दिनभर शव बोक्ने गाडीको खोजी गरे। साँझ ८ बजेतिर बल्ल स्थानीय बसन्त विश्वकर्माले आफ्नै ट्रयाक्टर दिने आश्वासन दिए। त्यसपछि मात्रै शव उठाउन सम्भव भयो।

प्रकाशको परिवार ३५–३६ वर्षअघि बैतडीकै भूमेश्वरबाट बसाइँ सरेको हो। उनको परिवारले गाउँमा कपडा सिलाउने परम्परागत पेशा सम्हालेको थियो। प्रकाश भने शिक्षाको माध्यमबाट समाज परिवर्तन गर्ने लक्ष्यसहित शिक्षण पेशामा लागे। तर, उनको आफ्नै आमाको दाहसंस्कारमा समाजकै विभेदकारी सोचले उनलाई घाइते बनायो।

नेपालमा कानुनले जातीय छुवाछुतको अन्त्य गरेको वर्षौं भइसक्यो। दलित समुदायका अधिकारको विषयमा निरन्तर बहसहरू चलिरहेका छन्। तर, सुदूरपश्चिमका गाउँहरूमा दलितभित्रकै विभेद अझै कायमै छ।

सिगासमा मात्रै होइन, सुदूरपश्चिमका विभिन्न गाउँमा अझै पनि दलितले गैरदलितको शव उठाउन पाउँदैनन्, गैरदलितले दलितको शव उठाउँदैनन्। अझै दलित समुदायकै अरू जातले पनि दमाईं जातको शव नछुने चलन रहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img