राजनीतिराजसंस्थाबारे संसदमा घम्साघम्सी : पूर्वराजालाई चुनाव लड्ने चुनौती

राजसंस्थाबारे संसदमा घम्साघम्सी : पूर्वराजालाई चुनाव लड्ने चुनौती

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रिय सभामा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रजातन्त्र दिवसको सन्देशलाई लिएर चर्को बहस भएको छ। सांसदहरूबीच राजसंस्था पुनर्स्थापनाका सम्भावना, गणतन्त्रको भविष्य र समसामयिक राजनीतिक विषयमा आरोप-प्रत्यारोप चलिरहेको छ।

नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले पूर्वराजाको अभिव्यक्तिपछि नेकपा (माओवादी केन्द्र) मौन बसेको विषय उठाउँदै माओवादीको राजनीतिक दिशा स्पष्ट पार्न माग गरे। उनले भने, “दक्षिणपन्थी यात्रा हो कि समाजवादी यात्रा? व्यवस्था बदल्न खोजेको हो कि सरकार?”

जवाफमा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले गणतन्त्र कुनै बहसको विषय नभएको भन्दै “हामीले जनमुक्ति सेना निर्माण गरेर गणतन्त्र ल्याएका हौं” भन्ने चेतावनी दिए।

संसदमा राजसंस्थाबारे विवाद चलिरहँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भने, “राजासहितको प्रजातन्त्र आवश्यक छ। गणतन्त्र यदि लुटतन्त्रमा परिणत भयो भने हामी निरन्तर विरोध गर्छौं।”

यसैबीच नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले पूर्वराजा शाहलाई “यदि पुनः सत्तामा आउन चाहनुहुन्छ भने टीका र कृपाले होइन, २०८४ को निर्वाचनमा लड्ने हिम्मत गर्नुहोस्” भन्दै खुला चुनौती दिइन्।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र ल्याउनेहरूबाटै व्यवस्थामा खतरा बढेको भन्दै आलोचना गरे। उनका अनुसार, “लोकतन्त्र–गणतन्त्र ल्याउन लडेका, जेल बसेकाहरूबाट नै अब व्यवस्था अस्थिर बन्न सक्छ।”

माओवादी केन्द्रका सांसद अमनलाल मोदीले राजतन्त्रलाई भूत–पिशाचको संज्ञा दिँदै “राजसंस्था कहिल्यै फर्किँदैन, यसलाई कल्पना गर्नु दिवास्वप्न मात्र हो” भने।

राष्ट्रिय सभामा पनि यही बहस प्रवेश गरेको छ। वामदेव गौतमले पूर्वराजालाई चुनाव लडेर प्रधानमन्त्री बन्न सुझाव दिँदै भने, “पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता गर्नुस्, २०८४ मा चुनाव लड्नुस्।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img