Sunday, March 16, 2025
समाजमकवानपुरमा ११ सय ५६ किलो गाँजासहित दुई जना पक्राउ

मकवानपुरमा ११ सय ५६ किलो गाँजासहित दुई जना पक्राउ

हेटौँडा | मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगर र ठुलोदमारको संयुक्त टोलीले माघ १० गते राति शंका लागेर गाडी जाँच गर्दा १ हजार १ सय ५६ किलो गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, दोभानचौरबाट छतिवनतर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ११२९ नम्बरको योद्धा पिकअप गाडीलाई चेकजाँच गर्न खोज्दा चालक र सहचालक दुबै जना प्रहरीलाई देख्नासाथ गाडी छोडेर भागेका थिए। त्यसपछि प्रहरीले गाडीको खोजतलास गर्दा पछाडि त्रिपालले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा ठूलो मात्रामा गाँजा भेटिएको थियो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले फरार व्यक्तिहरूको खोजी गर्दै जाँदा माघ ७ गते ललितपुर महानगरपालिका-१५ तिखेदेवलबाट २८ वर्षीय अर्पण सिन्तान (सुकुलाल सिन्तान) लाई पक्राउ गरेको छ । सिन्तान मकवानपुर, कैलाश गाउँपालिका-३ स्थायी घर भई हाल ललितपुर-२३ धापाखेलमा बस्दै आएका थिए। त्यसैगरी, माघ २५ गते मकवानपुरकै कैलाश गाउँपालिका-३ निवासी ४० वर्षीय मानसिंह गोङ लाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, पक्राउ परेका व्यक्तिहरू लामो समयदेखि लागुऔषध ओसारपसारमा संलग्न रहेको खुलेको छ। मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काका अनुसार, पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध ऐन, २०३३ अनुसार कारबाही अघि बढाइनेछ। यसबाहेक, घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको छ।

लागुऔषध तस्करी नियन्त्रण गर्न प्रहरीले हालै कडाइ गरिरहेको छ। मकवानपुर हुँदै काठमाडौं उपत्यकासहित भारत र अन्य स्थानमा गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको जनाएको छ । यसअघि पनि मकवानपुरको विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषध बरामद भैरहेको थियो ।

 

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img