काठमाडौँ | काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको राजावादी आन्दोलन पश्चात पक्राउ परेकाहरूको प्रारम्भिक बयानमा सहभागीहरूको ठूलो हिस्सा ‘लहैलहैमा’ आन्दोलनमा संलग्न भएको खुलासा भएको छ। प्रहरीका अनुसार, आन्दोलनको नेतृत्व ठोस योजनासहित भए पनि सहभागीहरूको मनोविज्ञान भने स्पष्टतः असंगठित देखिएको छ।
काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिएअनुसार पक्राउ परेकामध्ये धेरैले अरूको बहकाउमा आन्दोलनमा पुगेको बताएका छन्। “कतिपयले अपराध स्वीकार गरेका छन् भने कतिपयले आफूले केही नगरेको दाबी गरेका छन्, तर उनीहरूकै गतिविधिको फोटो र भिडिओ प्रमाणका रूपमा उपलब्ध छन्”, बोहोराले जानकारी दिए।
प्रहरीले ती आन्दोलनकारीहरूमाथि राज्यविरुद्धको कसुर, सङ्गठित अपराध तथा आपराधिक उपद्रवसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाएको छ। यस सम्बन्धमा हालसम्म ८२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान भइरहेको छ।
राज्यविरुद्धको अभियोग : नेतासहित २२ जना
राज्यविरुद्धको अभियोगमा पक्राउ परेकामध्ये प्रमुख नामहरूमा दुर्गा प्रसाईं, राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्र, र सांसद धवल शमशेर राणा सहित २२ जना रहेका छन्। उनीहरूविरुद्ध राज्यको अस्तित्व, शान्ति र सुरक्षालाई प्रभावित पार्ने कार्यमा संलग्न रहेको आरोपमा अनुसन्धान थालिएको हो।
पक्राउ परेकामध्ये केहीले सामाजिक सञ्जाल तथा सार्वजनिक कार्यक्रममार्फत राजतन्त्र पुनःस्थापनाको पक्षमा अभियान चलाउँदै आएका थिए। आफूलाई ज्योतिषी भनेर चिनाउने पुष्कर खतिवडाले समेत “२०८१ सालभित्र राजतन्त्र फर्किन्छ” भन्ने भविष्यवाणी गरेका थिए।
प्रहरीका अनुसार, आन्दोलनमा हिंसात्मक गतिविधिमा संलग्न भन्दै ६० जनाविरुद्ध आपराधिक उपद्रवसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको छ। उनीहरूबाट सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, सडक बन्द, सुरक्षाकर्मीमाथि आक्रमण जस्ता क्रियाकलापमा संलग्न रहेको आरोप लगाइएको छ।
यसैबीच, ८ जना पक्राउ परेकाहरूलाई जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा गरिएको छ। बाँकी ७४ जना हाल प्रहरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया जारी रहेको छ।
तीनकुनेको घटनामा दुईजनाको मृत्यु भएको पुष्टि भएको छ। २९ वर्षीय सविन महर्जनको शरीरमा गोली लागेको पोस्टमार्टम प्रतिवेदनले देखाएको छ भने पत्रकार सुरेश रजकको मृत्यु आगलागीका कारण भएको चिकित्सकको रिपोर्टले पुष्टि गरेको छ। घटनामा ज्यान गुमाउनेहरूमाथि छुट्टै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
राजनीतिक दृष्टिकोणबाट विश्लेषण गर्दा आन्दोलनको नेतृत्व तह र सहभागीहरूको मनोदशाबीच गहिरो अन्तर देखिन्छ। आन्दोलन योजनाबद्ध थियो भन्ने देखिए पनि सहभागीमध्ये धेरैजसो केवल सामाजिक सञ्जाल, प्रचार र हल्लाको भरमा आन्दोलनमा उत्रिएको बयान दिइरहेका छन्।



