समाजयार्सा टिप्न गएका युवा भिरबाट लडे — शव निकाल्न सेना, प्रहरीको संयुक्त...

यार्सा टिप्न गएका युवा भिरबाट लडे — शव निकाल्न सेना, प्रहरीको संयुक्त टोली खटियो

लमजुङ | बहुमूल्य जडिबुटी यार्सागुम्बा टिप्न गएका एक युवाको मनाङको विकट लेकमा भिरबाट लडेर मृत्यु भएको छ। घटनामा मृतकको शव अझै निकाल्न सकिएको छैन।

मृतक धादिङको गङ्गाजमुना गाउँपालिका–१ घर भएका ३२ वर्षीय आकाश तामाङ रहेको प्रहरीले पुष्टि गरेको छ।
उनी मनाङको नार्पाभूमि गाउँपालिका–२ स्थित नाम्जेर्ख क्षेत्रमा यार्सागुम्बा खोज्ने क्रममा भिरबाट लडेका थिए।

सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालका अनुसार, घटनास्थल चामेबाट करिब १० घण्टाको पैदल यात्रामा पर्ने कठिन भू–भागमा पर्छ।
अहिलेसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल नजिकको हुलाकी ओडारसम्म पुगेको छ। त्यहाँबाट अझै पाँच घण्टा पैदल हिँडेपछि मात्र घटनास्थल पुग्न सकिने जानकारी छ।

अर्यालका अनुसार, बाटो अत्यन्तै जोखिमपूर्ण भएकाले सुरक्षाकर्मीहरू डोरीको सहायतामा तल झर्दै अगाडि बढिरहेका छन्।

मनाङका लेक तथा खर्कहरूमा वैशाख दोस्रो सातादेखि यार्सागुम्बा संकलन सुरु भएको हो।
संकलन सिजन असारको अन्त्यसम्म रहने प्रशासनले जनाएको छ। यस सिजनको संकलन नासोँ गाउँपालिकाको नाम्ग्या लेकबाट औपचारिक रूपमा सुरु गरिएको थियो।

प्रत्येक वर्ष जस्तै अनुमति लिएर मात्र यार्सागुम्बा संकलन गर्न पाइने व्यवस्था मिलाइएको छ।
तर विकट लेक र भिरालो भूगोलमा हुने जोखिम प्रत्येक वर्ष ज्यानै जाने घटना दोहोरिनु चुनौतीकै रूपमा देखिँदै आएको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार, यार्सा सिजनमा हुने चोरी, डकैती, झैँ–झगडा रोक्न सुरक्षा सतर्कता कडा पारिएको थियो।
तर यस्तो सतर्कता हुँदा–हुँदै पनि प्राकृतिक जोखिमबाट जोगिन सकिएको छैन।

इन्फो नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने, “हामीले विगतका घटनाबाट सिक्दै सुरक्षा प्रबन्ध मिलाएका थियौँ। तर यस्तो विकट क्षेत्रमा अप्रिय घटना हुन नदिन थप सचेतता र संयोजन आवश्यक देखिएको छ।”

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img