खेल समाचार१२ गोलको आँधी: एपीएफले वीरगन्ज युथलाई घर फर्कायो
spot_img

१२ गोलको आँधी: एपीएफले वीरगन्ज युथलाई घर फर्कायो

हेटौँडा । मकवानपुरमा जारी महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले शानदार प्रदर्शन गर्दै वीरगन्ज युथ स्पोर्ट्स एकेडेमीलाई १२–० को गोल अन्तरले पराजित गरेको छ। हेटौँडा–६ स्थित गौरीटार रंगशालामा सोमबार सम्पन्न खेलमा एपीएफले सुरुदेखि अन्त्यसम्म पूर्ण नियन्त्रण जमाउँदै वीरगन्जलाई प्रतियोगिताबाट बिदा गराएको हो।

खेलको सुरूवातमै आक्रामक देखिएको एपीएफले पहिलो हाफमा ५ गोल र दोस्रो हाफमा थप ७ गोल गर्दै ‘गोलको आँधी’ ल्यायो। खेलको सर्वाधिक चमकदार प्रदर्शन गरेकी रश्मि कुमारी घिसिङले एक्लैले पाँच गोल गरेकी थिइन्। उनले २३, ४९, ६९, ७० र ७८ औं मिनेटमा गोल गर्दै खेलमा ह्याट्रिकसहित कुल पाँच गोलको योगदान दिइन्।

खेलको १९ औं मिनेटमा सरु लिम्बुले पहिलो गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। त्यसपछि अनिता केसी (२५ औं मिनेट), पुनः सरु लिम्बु (३५ औं मिनेट), अनिता बस्नेत (३९ औं मिनेट), मञ्जली योन्जन (४५ औं मिनेट), सजनी थोकर (५१ औं मिनेट) र सविता राना (७३ औं मिनेट) ले गोल गर्दै एपीएफको जित सुनिश्चित गरे।

रश्मिको प्रभावशाली प्रदर्शनका कारण उनलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो। उनले पुरस्कारस्वरूप नगद १० हजार रुपैयाँ प्राप्त गरिन्।

यस जितसँगै एपीएफ क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ, जहाँ उसले मंगलबार संकटासँग प्रतिस्पर्धा गर्नेछ। संकटा क्लबले नवजन जागृति युवा क्लबलाई ६–१ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो।

त्यस्तै, मंगलबार बिहान ८:३० बजे पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र चितवनबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको फाइनल खेल बिहीबार हुनेछ। फाइनल विजेताले नगद ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ, भने उपविजेताले ३ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img