देशकोशी प्रदेशचित्रकला मार्फत मुन्दुम पदमार्गको प्रवर्द्धन

चित्रकला मार्फत मुन्दुम पदमार्गको प्रवर्द्धन

भोजपुर |  नेपाल सरकारले घोषणा गरेका १०० प्रमुख पर्यटकीय गन्तव्यहरूमध्ये एक, मुन्दुम पदमार्गको प्रवर्द्धन र संरक्षणका लागि भोजपुरको चखेवामा आयोजित ‘टेम्केमैयुङ राष्ट्रिय चित्रकला कार्यशाला’ सफलतापूर्वक सम्पन्न भएको छ।

तीन दिनसम्म चलेको कार्यशालामा मुलुकका विभिन्न भागबाट आएका २० जना राष्ट्रिय स्तरका चित्रकारले मुन्दुम क्षेत्रको प्राकृतिक सौन्दर्य, किराँत संस्कृति, जनजीवन, धार्मिक–ऐतिहासिक सम्पदा तथा जैविक विविधतालाई आफ्ना चित्रमा समेटेका थिए।

कार्यशालाको उद्देश्य पदमार्गलाई पर्यटन, कला र संस्कृतिको मिलनबिन्दुका रूपमा स्थापित गर्दै, स्थानीय पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्नु रहेको आयोजकहरू बताउँछन्। कार्यक्रम संयोजक नभराज माङ्गपाहाङ्गका अनुसार, “मुन्दुम पदमार्गको अद्वितीय सांस्कृतिक, जैविक र पर्यावरणीय विविधता चित्रमा उतारेर त्यसको मौलिकता सन्देशमार्फत दर्शकसामु पुर्‍याउने प्रयास गरिएको हो।”

कार्यशालामा सिर्जना गरिएका चित्रहरू आगामी दिनमा काठमाडौंमा प्रदर्शनीमार्फत सार्वजनिक गरिनेछन्, जसले मुन्दुम पदमार्गको प्रचार–प्रसारमा थप योगदान पुर्‍याउने चित्रकला विभाग प्रमुख सञ्जय बान्तावाले जानकारी दिए।

चित्रहरूमा रेड पाण्डा (हाब्रे), किराँती भेषभूषा, परम्परागत जीवनशैली, तायामा खियामा, चिण्डो जस्ता जीवजन्तु, तथा स्थानीय धार्मिक स्थलहरूको विशिष्ट झल्को प्रस्तुत गरिएको थियो।

टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले मुन्दुम पदमार्गलाई केवल पर्यटकीय गन्तव्य नभई योग र ध्यान केन्द्र, सांस्कृतिक संग्रहालय तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना साझा गरे।

उनका अनुसार, पदमार्गको समृद्ध संस्कृति र जैविक विविधता संरक्षणसहित प्रवद्र्धन गर्न अबको केही वर्षभित्र स्थायी संरचना निर्माण गर्ने कार्य अघि बढाइएको छ।

कार्यशालाको समापन समारोह नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनी हार्ताछालीको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उनले कार्यशालालाई कला र पर्यटनबीचको सिर्जनात्मक सहकार्यको उत्कृष्ट उदाहरण भन्दै यस्ता कार्यक्रमले सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय पर्यटन विकासमा उल्लेख्य योगदान पुर्‍याउने धारणा व्यक्त गरे।

कार्यक्रम नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्य र टेम्केमैयुङ गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो।

यस अवसरमा वडा नं. ४ का वडाध्यक्ष हर्कराज राई, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, व्यापारी, स्थानीय कलाकार, समुदायका अगुवा र सर्वसाधारणको उत्साहजनक उपस्थिति देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img