हेटौँडा | देशका प्रमुख राजमार्ग र पुलहरूमा पछिल्ला दिनमा देखिएको क्षतिको मुख्य कारण अत्यधिक भार बोकेको सवारी साधन रहेको भन्दै नारायणी यातायात व्यवसायी कम्पनी प्रालि, हेटौँडाले गम्भीर चिन्ता व्यक्त गरेको छ। बिहीबार हेटौँडामा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले सरकार तथा सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै सवारी भार नियन्त्रण तथा संरचना सुधारमा तत्काल कदम चाल्न आग्रह गरेको हो।
कम्पनीले विशेषगरी पूर्व–पश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेर गुड्ने मालवाहक सवारीसाधनका कारण पुल भाँचिने र राजमार्ग भासिने घटनाहरू दोहोरिइरहेको जनाउँदै यस्ता घटनाले यातायात क्षेत्रमा गम्भीर समस्या उत्पन्न गराएको जनाएको छ। यात्रुहरूले दैनिक यात्रा गर्दा ज्यान जोखिममा पार्नु परिरहेको र मालवाहक सवारी साधनहरूले अनावश्यक आर्थिक भार बेहोर्नुपरेको कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले जानकारी दिए।
२०७२ साल बैशाख २९ गते नवलपुरको चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचिएको र सोही दिन इलामको फिक्कल–नयाँ बजार सडकखण्डमा पर्ने मयुँ खोलाको पुलसमेत भत्किएको घटनालाई स्मरण गराउँदै कम्पनीले सवारी साधनको भार नियन्त्रणमा तुरुन्त ध्यान नदिए अझ ठूलो क्षति निम्तन सक्ने चेतावनी दिएको छ।
कम्पनीका कार्यकारी सञ्चालक माधव अधिकारीले हाल नेपालका अधिकांश पुलहरू करिब ५० वर्ष पुराना भइसकेका र ती पुलहरू निर्माण हुने समयमा रहेको यातायात चाप र भार अनुसार बनाइएको हुँदा अहिलेको अत्यधिक भार थेग्न नसक्ने अवस्था आएको बताए। उनका अनुसार अहिले निर्माण भएका केही नयाँ पुलबाहेक अधिकांश पुराना संरचनाहरू वर्तमान यातायात चापको भार उठाउन असमर्थ छन्, जसका कारण बारम्बार दुर्घटना र अवरोध हुने अवस्था देखा परेको हो।
पत्रकार सम्मेलनमा कम्पनीले सवारी साधनको भारवहन क्षमतालाई कडाइका साथ नियमन गर्न सरकारसँग माग गरेको छ। त्यसका लागि देशभर रहेका तौल पुलहरूको प्रभावकारी सञ्चालन, ढुवानीमा मूल्य अभिवृद्धि कर (VAT) को कार्यान्वयन, तथा जीर्ण संरचनाहरूको प्राविधिक परीक्षणपछि मर्मत वा पुनर्निर्माण गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ। यस्ता पूर्वाधार समस्याले व्यवसायी र सर्वसाधारण दुवैलाई प्रत्यक्ष असर पार्ने भएकाले सम्बन्धित सबै पक्षले तुरुन्त गम्भीर ध्यान दिनुपर्ने कम्पनीको धारणा छ।
कम्पनीले सवारी चालक तथा व्यवसायीहरूलाई समेत मापदण्ड विपरीत कार्य नगर्न र नगर्न दिन आग्रह गरेको छ। सार्वजनिक ढुवानी तथा यातायात सेवा कुनै पनि राष्ट्रको जीवन रेखा हो भन्ने कुरामा जोड दिँदै अध्यक्ष पराजुलीले व्यवसायीहरूबाटै पनि नियमको पालना हुनुपर्नेमा विशेष जोड दिए।
उनले भने, “सरकारको जिम्मेवारी त हो नै, तर व्यवसायीहरूले पनि आफ्नो कर्तव्यबाट पछि हट्नु हुँदैन। हामीले आफैं सुरक्षालाई प्राथमिकता दिँदैनौँ भने हामीले भोग्नु पर्ने परिणाम झन् भयावह हुन सक्छ।”
नारायणी यातायात व्यवसायी कम्पनीले सरकारसँग सहकार्य गर्न आफू पूर्णतः प्रतिबद्ध रहेको बताउँदै आगामी दिनमा यस्ता दुर्घटनाबाट हुने जनधनको क्षति र यातायात अवरोधलाई न्यूनीकरण गर्न सबै पक्षको सहयोग अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।



