हेटौँडा | “समयानुकूल नहुँदा तालिमबाट मात्र दिगो नतिजा प्राप्त हुँदैन,” प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्, बागमती प्रदेशकी प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले बुधबार हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा स्पष्ट पारिन्।
‘दिगो तथा सम्मानजनक रोजगारीका लागि सिप परियोजना’ अन्तर्गत औद्योगिक प्रशिक्षार्थीहरूको परीक्षा प्रणाली सुधार तथा विश्वसनीय डाटाबेस विकासका विषयमा आयोजित कार्यक्रममा बोल्दै लामाले तालिम प्रणालीमा व्यापक सुधारको आवश्यकता औँल्याइन्। “स्थानीय श्रम बजारको मागअनुसार दीर्घकालीन सोचसहितको तालिम आवश्यक छ,” उनले भनिन्।
उनका अनुसार, अहिले प्रदेशका १० वटा पालिकामा सञ्चालनमा रहेका सीपमूलक तालिम तथा साना उद्योग कार्यक्रमहरूले अपेक्षित नतिजा दिन सकेका छैनन्। तालिमको गुणस्तर कमजोर हुनु, ८० प्रतिशत विद्यार्थी असफल हुनु, २० प्रतिशत मात्र पास हुनु र ड्रपआउट दर उच्च रहनुले चुनौती थपिएको उनले बताइन्। “सिप तालिम प्रभावकारी बनाउन तालिमको निरन्तरता, व्यावहारिकता र श्रम बजारसँगको मेल जरुरी छ,” लामा भन्छिन्।
त्यसैगरी, लामाले भनिन्, “परीक्षा मात्र होइन, प्रशिक्षार्थीको व्यवहारिक सीप, कार्यस्थल अनुभव र रोजगार जडानलाई पनि मूल्याङ्कन प्रणालीमा समावेश गर्नुपर्छ।” उनले सबै प्रशिक्षार्थीको विवरण राखिने एकीकृत डाटाबेस निर्माणको खाँचो औँल्याइन्।
बागमती प्रदेशका १८ वटा आङ्गीक संस्थाहरूले तालिमका विषयवस्तु अद्यावधिक गर्नुपर्ने माग गर्दै आएका छन्। लामाले पाठ्यक्रमहरू श्रम बजारसँग मेल खाएकै आधारमा परिमार्जन गरिनुपर्ने बताइन्। “कम्प्युटर, मोटरसाइकल मर्मत, निर्माण जस्ता क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गरेर तालिमको व्यावसायिकता बढाउन सकिन्छ,” उनले भनिन्।
इन्स्योर परियोजनाअन्तर्गत सञ्चालित २४ महिनाको तालिम कार्यक्रममध्ये ९८ प्रतिशत निजी क्षेत्रबाट र २ प्रतिशत प्रदेश सरकारको सहकार्यमा सञ्चालित रहेको जानकारी बागमती प्रदेश इन्स्योर प्रबन्धक निर्मला मैनालीले दिइन्।
कार्यक्रममा कार्यालय प्रमुख देव नारायण चौधरीले पनि सार्वजनिक–निजी साझेदारीको आवश्यकता औँल्याउँदै रोजगारीका आँकडाको आधारमा योजना बनाइँदै गरेको र प्रभावकारिता मूल्यांकनका लागि अनुगमन भइरहेको जानकारी दिए।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले सीपमूलक तालिमलाई गुणस्तरीय, दिगो र रोजगारीमुखी बनाउन स्थानीय, प्रदेश र संघीय सरकारबीचको समन्वय अपरिहार्य रहेकोमा एकमत व्यक्त गरे। ‘ब्याक टु स्कुल’ अभियानअन्तर्गत हप्तामा एक दिन प्राविधिक सिप शिक्षा सञ्चालन गरिने तयारीसमेत भइरहेको जानकारी दिइएको छ।



