हेटौँडा | जिल्ला प्रशासन कार्यालय मकवानपुरको राष्ट्रिय परिचयपत्र शाखा अब बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने भएको छ। प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेद्वारा जारी सूचनाका अनुसार नयाँ समयतालिका भोली जेठ २६ गतेदेखि लागू हुनेछ।
प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सेवाग्राहीहरूको भीड दिनप्रतिदिन बढिरहेको, तर शाखामा सीमित जनशक्ति मात्र रहेकाले सेवाग्राहीलाई सहज बनाउन कार्यालयको सेवा समय बढाइएको जनाएको छ।
यसअघि बिहान १० बजेदेखि सुरु हुने सेवा अब बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ। विस्तारित समयले सेवाग्राहीलाई लामो समय पर्खनुपर्ने झन्झट कम हुने प्रशासनको विश्वास छ।



